काठमाडौं- कानुन, न्याय तथा संघीय मामिलामन्त्री गोविन्द कोइराला बन्दीले 'परामादेशी सरकार'मा एमालेलाई जवाफ फर्काएका छन्। मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले त्यही आदेश मानेर एमाले प्रतिपक्षमा बसेको स्मरण गराए।
उनले भने, 'म निवेदन गर्न चाहन्छु। वैधानिक संवैधानिक प्रक्रियाबाट आएको सरकार हो। यहाँहरुले मान्नुभएको छ। यहाँहरु त्यही कुरा मानेर प्रतिपक्षमा बस्नुभएको छ।'
उनले नेपालको संविधानले सम्मानित अदालतलाई दिएको अधिकारका विषयमा व्यंग्यात्मक रुपमा प्रश्न उठाइरहेको भन्दै असन्तुष्टि जनाए।
उनले प्रश्न गरे, ‘हामीले कस्तो खालको न्यायपालिकाको परिकल्पना गरेका छौं? हाम्रा काम कारबाहीबाट संवैधानिक आधार धराशायी हुने काम कसैले गर्न पाउँदैन र गर्न हुँदैन।'
संसद्मै यस्तो सुनिरहेको बताउँदै यो पनि खत्तम भए कहाँ पुग्छौं भन्दै प्रश्न गरे। यसैगरी परराष्ट्र सम्बन्धका विषयमा पनि सांसदहरुको बोली सही नभएको उनले उल्लेख गरे। उनले भने, 'परराष्ट्रका विषयमा फेरि झ्याप्प आयो, प्याच्च बोल्दा जम्मै देशसँग सम्बन्ध बिग्रिने अवस्था छ।'
निरन्तर सुनिरहे पनि हालसम्म यस विषयमा नबोलेको बताउँदै एमालेले प्रयोग गरिरहेको भाष्य सही नरहेको उनले टिप्पणी गरे। एमालेका सांसदहरुले संसद्मा बोल्दा सरकारलाई 'परमादेशी सरकार' भन्दै व्यंग्य गर्ने गरेका छन्। मंगलबार पनि त्यसलाई निरन्तरता दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।