काठमाडौं– अमेरिकादेखि हुलाकमार्फत पार्सल गरेर नेपालमा गाँजाको सप्लाई हुने गरेको पाइएको छ। अमेरिकाबाट आएको गाँजाको पार्सल रिसिभ गरेको आरोपमा तीन जनासहित अन्य घटनामा १२ जना गरी १५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
लागु औषध नियन्त्रण ब्यूरोको टोलीले उपत्यकासहित विभिन्न स्थानबाट विभिन्न मितिमा १५ जनालाई पक्राउ गरेको हो।उनीहरुबाट २८७.५ ग्राम खैरो हेरोइन, २ किलो गाँजा, २५२ एम्पुल लागु औषध, लागु औषध तौलन प्रयोग गरिने ४ थान तराजु बरामद गरेको छ।
२५२ एम्पुलसहित चार जनालाई ब्यूरोको टोलीले पक्राउ गरेको थियो। यो घटनामा सुरूमा ललितपुरका ३२ वर्षीय संजय कपाली र रामेछापको मन्थली नगरपालिका–१३ का २७ वर्षीय कुमार तामाङ भदौ १६ गते पक्राउ परेका थिए।
कुमारसँग लागु औषध कारोबार गरेको आरोपमा ललितपुरकै २९ वर्षीय अनिश महर्जन पक्राउ परे। उनको कोठाबाट प्रहरीले बुप्रेनोर्फिन ५६ एम्पुल, डाइजेपाम २५ र फेनारगन ७९ एम्पुल बरामद गरेको थियो। अनिशलाई लागु औषध बेचेको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ का २७ वर्षीय धरमदेव राम भदौ १९ गते पक्राउ परे।
४०.५ ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ परे। भदौ १७ गते ललितपुर भैसेपाटीका ३३ वर्षीय प्रताप कार्की ७.५ ग्राम लागु औषधसहित पक्राउ परे। उनकै सूचनाका आधारमा पाँचथरको फिदिम नगरपालिका–१ घर भएका २४ वर्षीय भुवन विक र सोही ठाउँका २५ वर्षीय देंग हाङ्ग नेम्वाङ काठमाडौं अनामनगरबाट पक्राउ परेको ब्यूरोका एसएसपी विकासराज खनालले जानकारी दिए।
२४७ ग्राम खैरो हेरोइनसहित ब्यूरोले ५ जनालाई पक्राउ ग-यो। भदौ १७ गते काठमाडौंका २५ वर्षीय उत्सव घिमिरे र भोजपुरको ट्याम्केमैयुङ गाउँपालिका–९ का ४१ वर्षीय दोर्ची शेर्पा ७ ग्राम लागु औषध खैरो हेरोइनसहित पक्राउ परेका थिए।
उनीहरुकै सूचनाको आधारमा भोजपुरकै पौवाढुंगा गाउँपालिका–१ की ३२ वर्षीया फुलार्मी शेर्पा काठमाडौं सुकेधाराबाट २४० ग्राम खैरो हेरोइन र डिजिटल तराजुसहित पक्राउ परिन्। उनीहरुलाई खैरो हेरोइन बेच्ने गरेको आरोपमा झापाको मेचिनगर नगरपालिका–१५ की ३० वर्षीया अप्सरा खातुन भनिने अप्सरा राजवंशी र सोही ठाउँका ४४ वर्षीय नौसाद आलम भदौ १९ गते झापाबाट पक्राउ परेका हुन्। उनीहरुबाट डिजिटल तराजु र १० हजार ४० हजार रुपैयाँ समेत बरामद भएको छ। त्यसैगरी ब्यूरोको टोलीले २ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काभ्रेको मन्डनदेउपुर–७ का २८ वर्षीय मनोज राई, काठमाडौं नक्सालका ३० वर्षीय अंकित कुमार श्रेष्ठ र काठमाडौं–१७ खुशिबुका ३० वर्षीय राहुल क्षेत्री छन्।
गोश्वारा हुलाक कार्यालय डिल्लीबजार पुगी अमेरिकाबाट आएको लागु औषध गाँजा लुकाएको पार्सल रिसिभ गरी लैजाने क्रममा मनोजलाई पक्राउ गरिएको थियो। गाँजाको पार्सल रिसिभ गर्न मनोजलाई पठाउने व्यक्ति अंकित भएको भन्दै उनलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनलाई पनि प्रयोग गर्ने व्यक्ति राहुल क्षेत्री भएको भन्दै उनलाई पनि प्रहरीले पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।