विराटनगर– नेकपा माओवादी केन्द्रले मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ।
केन्द्रमा सिट बाँडफाँट कार्यदलले सिट संख्या र क्षेत्र टुंग्याउने कसरत गरिरहेका बेला माओवादीले मोरङका ६ वटै क्षेत्रमा आफ्ना उम्मेदवार सिफारिस गरेको हो।
माओवादी केन्द्रले मोरङ क्षेत्र नम्बर १ बाट पार्टी प्रदेश कमिटी सदस्य प्रेम मिभक लिम्बू र क्षेत्र नम्बर २ मा गणेश उप्रेती (सुशील) को नाम सिफारिस गरेको छ। यस्तै क्षेत्र नं ३ बाट सावित्रीकुमारी काफ्ले, खेम भट्टराई र खेम सुन्दासको नाम सिफारिस गरिएको छ।
क्षेत्र नम्बर ४ बाट अमनलाल मोदीको नाम सर्वसम्मत रुपमा सिफारिस भएको छ। माओवादीका केन्द्रीय सदस्यसमेत रहेका मोदी सोही क्षेत्रबाट निर्वाचित सांसद हुन्। उनले २०७४ को चुनावमा नेपाली कांग्रेस नेता महेश आचार्यलाई पराजित गरेका थिए।
क्षेत्र नम्बर ५ बाट शिवकुमार मण्डलको नाम सर्वसम्म्मत सिफारिस भएको छ। २०७४ को चुनावमा वाम गठबन्धनबाट उनी निर्वाचित भएका थिए। मण्डलले कांग्रेसका उम्मेदवार अमृत अर्याललाई पराजित गरेका थिए। त्यसैगरी क्षेत्र नम्बर ६ मा हेम कार्की, शिव कार्की र नविन पौडेलको नाम सिफारिस गरिएको छ।
२०७४ को निर्वाचनमा वाम गठवन्धनबाट चुनाव लड्दा मोरङका ६ वटा क्षेत्रमध्ये माओवादी केन्द्रका उम्मेदवारले दुईवटा क्षेत्र जितेका थिए। मोरङको क्षेत्र नं ४ बाट माओवादीका अमनलाल मोदी र क्षेत्र नं ५ बाट शिवकुमार मण्डलले चुनाव जितेका थिए।
वाम गठबनधनकै अर्को पार्टी एमालेले ३ वटा क्षेत्र र नेपाली कांग्रेसले एक क्षेत्रमा चुनाव जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।