काठमाडौं- नेपाली कांग्रेसका सांसद् प्रकाश रसाइली स्नेहीले मनोनयनको दिनभन्दा अगावै सांसदहरु पदमुक्त भएर जनताका बीचमा जानुपर्ने बताएका छन्।
प्रतिनिधि सभा र प्रदेश सभाको आयु लम्ब्याउने गरी दर्ता भएको विधेयकमाथि संशोधन राखेका उनले मंगलबार प्रतिनिधि सभामा बोल्दै कानुनमन्त्रीले सो प्रस्तावलाई फिर्ता लिनुपर्ने बताए।
‘स्वच्छ र निष्पक्ष निर्वाचन गराउने जिम्मा यो सरकारले लिएको छ। निर्वाचन आयोगले समन्वय गरिरहेको छ। त्यसकाप्रति हामी प्रतिबद्ध हुनुपर्छ। र, प्रदेश र प्रतिनिधि सभाको जो निर्वाचन हुँदैछ, असोज १ भन्दा अगावै, अथवा असोज २ गते मनोनयन हुने दिनभन्दा अगावै हामी सबै पदमुक्त हुनुपर्छ र जनताका बीचमा जानुपर्छ’, उनले भने।
स्नेहीले राष्ट्रिय सभाले ऐन बनाएर फागुन २० लाई आधार बनाएजस्तै प्रतिनिधि सभाको आयु सुरुमै ‘डिक्लियर’ गर्नुपर्ने थियो भन्ने धारणा राखे।
‘अब हामी निर्वाचनको प्रक्रियामा जाँदैछौँ। जनादेशका निम्ति जनताको बीचमा जाँदैछौँ। त्यो जनादेशका लागि जाने बेलामा संसद्को आफ्नो आयु अर्को संसद्को शपथ नगरेसम्मका निम्ति भनेर जानु उपयुक्त हुँदैन’, सांसद स्नेहीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।