काठमाडौं– प्रमुख प्रतिपक्ष नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सरकारले अहिले भएको ऐन संशोधन गर्नुपर्नेमा गलत काम गरेको दाबी गरेका छन्। विगतमा समय हुँदाहुँदै सरकारले काम नगरेको तर अहिले त्रुटीपूर्ण काम गरेको उनले बताए।
उनले सरकारले दुईखाले सांसद खडा गर्न खोजेको टिप्पणी गरे। चुनावको घोषणासँगै कार्यकाल सकिनुपर्नेमा नसकिएको उनको भनाइ छ। उनले मंसिर ५ गते परिणाम आयो भने एउटा जितेको सांसद हुने र अर्को हारेको तर, लोगो उसैसँग हुने बताए।
‘दुईखाले सांसद खडा गर्ने प्रयास गरिएको छ। एमालेले त्यसलाई मान्यता दिँदैन। नोमिनेसनको अघिल्लो दिन प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल समाप्त हुनुपर्छ’, भट्टराईले भने, ‘प्रमुख प्रतिपक्ष दलको पनि सर्मथनमा ल्याएको भनिएको सुनियो। तर, म समेत उपस्थित बैठकमा राखेको प्रस्तावमा सर्मथन छैन भनेको थिएँ। प्रतिनिधि सभाको कार्यकालका बारेमा राखिएको प्रस्तावमा गम्भीर आपत्ति छ।’
उनले कांग्रेसले सरकार कस्तो हुन्छ देखाइदिन्छौं भनेको स्मरण गर्दै १४ महिनामा देखिएको टिप्पणी गरे । भट्टराईले सरकारी निवासमा अहिले दैनिक बैठक बसिरहेकोप्रति पनि ध्यानाकर्षण गराए।
उनले केपी शर्मा ओलीको सरकारको समयमा यसमा आलोचना गरेको तर, अहिले दैनिक रुपमा बैठक बसिरहेको स्मरण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।