विराटनगर– झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित पाँच जनालाई पक्राउ गरेको छ।
झापाको मेचीनगर नगरपालिका-६ स्थित इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेको प्रदेश १-०२-०४४ प ३९२९ नम्बरको मोटरसाइकलमा सवार रहेका लेटाङ नगरपालिका-४ मोरङका २१ वर्षीय सनिप राई र २१ वर्षीय पूर्ण प्रकाश मगरको साथबाट ३ ग्राम ब्राउन सुगर बरामद भएको थियो।
त्यसपछि मेचीनगर नगरपालिका-७ का २१ वर्षीय रोहित मण्डल समेत संलग्न रहेकोले बरामद गरिएको ब्राउन सुगरसहित तीनै जनालाई पक्राउ गरिएको छ प्रहरीले जनाएको छ।
यसैगरी, दमक नगरपालिका-२ खरखरे स्थितबाट इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका दमक-२ का ४१ वर्षीय भीमबहादुर खत्रीको साथबाट ७ ग्राम ब्राउन सुगर बरामद गरेको हो।
यसैगरी, मोरङको विराटनगर महानगरपालिका-१५ स्थित रानी भन्सार कार्यालयको १ नम्बर ढाटमा लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेको प्रदेश १-०२-०४ प १७५७ नम्बरको मोटरसाइकलमा सवार रहेका सुन्दरहरैचा नगरपालिका-२ का २८ वर्षीय ज्ञानदीप चौलागाँईको साथबाट ७५० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो।
प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका पाँचै जनाको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।