काठमाडौं– विवादित संसद्को कार्यकाल बढाउने विधेयकमा संशोधन दर्ता भएको छ। केही नेपाल ऐन संशोधन विधेयकमार्फत् सरकारले प्रतिनिधि सभा फागुनसम्म रहनेगरी विधेयक दर्ता गराएको थियो। उक्त विधेयकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित सार्वजनिक रुपमा आलोचना भइरहेको छ। सरकारले विधेयकलाई संशोधनमार्फत् सच्याउने तयारी गरेको छ।
विधेयकमाथि नियम निलम्बन गरेर संशोधन दर्ता गर्न दिइएको २४ घण्टाको समयमा ११ वटा संशोधन दर्ता भएका हुन्। ११ मध्ये ७ वटा प्रतिपक्षी एमालेले दर्ता गराएको संशोधन रहेको छ। तीनवटा कांग्रेस र एउटा नेमकिपाका प्रेम सुवालले दर्ता गरेका छन्। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पनि संसदको कार्यकाल अर्को चुनावको मनोनयनको अघिल्लो दिनसम्म मात्रै कायम राख्नुपर्ने प्रस्ताव गरेका छन्।
एमाले सांसदहरुले मनोनयनको अघिल्लो दिनसम्म मात्रै संसदको कार्यकाल रहनुपर्ने प्रस्ताव आफ्नो संशोधनमा गरेका छन्।
कांग्रेस सांसदले दर्ता गरेको संशोधनम कार्यकालबारे तीनै थरी प्रस्ताव गरिएको छ। सांसद गगन थापाले दर्ता गरेको संशोधनमा एमालेका सांसदले दर्ता गरे जस्तै मनोनयनको अघिल्लो दिनसम्म मात्रै कार्यकाल कायम राख्नुपर्ने प्रस्ताव गरेका छन्।
त्यस्तै, सांसद प्रकाश स्नेही रसाइली, रंगमती शाही र रामकुमारी चौधरीलगायतले भने प्रतिनिधि सभा र प्रदेश सभा ऐन नै संशोधन गर्नुपर्ने प्रस्ताव गरेका छन्। उनीहरुले सरकारले ल्याएको केही नेपाल ऐन संशोधन विधेयकको प्रतिनिधि सभा र प्रदेश सभाको विषय नै झिक्न माग गरेका छन्। यस्तो प्रस्ताव राख्ने सांसदहरु सभापति शेरबहादुर देउवा निकटका हुन्।
त्यस्तै, कांग्रेसका सांसद अहतरकमाल मुसलमानले एकल रुपमा दर्ता गरेको संशोधनमा अनौठो प्रस्ताव गरिएको छ। उनले संसदको कार्यकाल विधेयकमा जस्तै नयाँ संसदको अधिवेशन सुरु हुने दिनसम्मै कायम गर्नुपर्ने तर सेवा सुविधा भने मनोनयनको दिनसम्मको मात्रै दिनुपर्ने उल्लेख गरेका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा उक्त विधेयक पारित गर्ने तयारी छ । प्रतिनिधि सभा बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।