काठमाडौं– सरकारले सोमबारदेखि कर्मचारीहरुको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ ।
निर्वाचन आयोगले गत भदौं २ गते दिएको निर्देशन अनुसार सरकारले सोमबारदेखि कुनै पनि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने भएको हो । आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सो काम नगर्न सोमबारभन्दा १८ दिन अघि अर्थात् गत भदौं २ गतेनै आयोगले निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए।




उनले कुनै पनि ठाउँमा स्वीकृत दरबन्दी रिक्त रहेमा त्यसलाई पूर्ति गर्न सरकारले १८ दिनको समय दिएको पनि स्पष्ट पारे। सहायक प्रवक्ता अर्यालले भने, ‘निर्वाचन आयोगले निर्वाचन तयारीको क्रममा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई विभिन्न खालको निर्वाचनसँग सम्बन्धित निर्देशनहरु दिँदै आएको छ । यसै सन्दर्भमा भदौं २ गते आयोगले नेपाल सरकारलाई दिएको निर्देशन बमोजिम संघ, प्रदेश र स्थानीय तहका कुनै पनि स्विकृत दरबन्दी भित्र यदि त्यहाँ पद र पदनाममा कुनै रिक्तता छ भने ती रिक्तता निर्वाचन व्यवस्थापन गर्नका लागि विभिन्न कारणबाट अप्ठ्यारो पर्न सक्ने भएका कारणबाट भदौं २० गतेसम्म ती पदहरु पूर्ति गरिसक्ने अथवा सरुवा गरिसक्नुपर्ने भएपनि गरिसक्नु भन्ने आशयले निर्वाचन आयोगले नेपाल सरकारलाई निर्देशन दिएको थियो ।
निर्वाचन आयोगले यस अघि नै निर्वाचन प्रयोजनका लागि कर्मचारी व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै जिल्लाहरुमा कर्मचारी व्यवस्थापन कमिटी बनाएको छ । कर्मचारीहरुलाई निर्वाचन प्रयोजनका लागि परिचालन गर्न सबै जिल्लाहरुमा सो कमिटीको पनि व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता अर्यालले बताए।
निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा भएदेखि नै सरकारलाई आचारसंहिता लाग्ने पनि स्पष्ट पारेको छ । आगामी मंसीर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।