काठमाडौं– नेकपा (एमाले)का नेता घनश्याम भुसालको नाम आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि रुपन्देहीका दुई निर्वाचन क्षेत्रबाट सिफारिस भएपछि जिल्ला नेतृत्वलाई सिफारिस सच्याउन दवाब परेको छ।
जिल्लाको क्षेत्र नं. १ र ३ नम्बर गरी दुई क्षेत्रबाट भुसालको नाम क्षेत्रीय कमिटीबाट सिफारिस भई जिल्ला कमिटीमा पुगेको छ। भूसालको घर क्षेत्र नं. १ मै पर्छ। अघिल्लो चुनावमा आफ्नो गृहक्षेत्रमा टिकट नदिएर अध्यक्ष ओलीले तत्कालीन स्वास्थ्यमन्त्री दीपक बोहरासँग ३ नं. क्षेत्रमा टिकट दिएका थिए।
पार्टीले क्षेत्र नं. १ र ३ बाट सिफारिस भई आएका भुसालको नाम एउटा मात्रै क्षेत्रबाट सिफारिस गराई प्रदेश कमिटीमा पठाउने गरी गरेको छलफलमा विवाद बढ्दा निश्कर्षविहीन भएको छ। गृहक्षेत्रका स्थानीय नेता कार्यकर्ताहरूले भूसाललाई १ नम्बर क्षेत्रमै उठाउनुपर्ने अडान लिएका छन्। भोलि बिहान पुनः १० बजे बस्ने गरी रुपन्देही जिल्ला कमिटीको बैठक स्थगित गरिएको छ।
बैठकमा नेताहरुले भुसालको नाम क्षेत्रीय कमिटीबाट सिफारिस भएअनुसार २ क्षेत्रबाट पठाउँदा केन्द्रीय नेतृत्वको दबाब पर्ने देखेर भुसालको नाम रूपन्देही क्षेत्र नं. ३ बाट मात्रै पठाउने गरी छलफल अगाडि बढाएको तर भुसाललाई १ नम्बर क्षेत्रबाट उम्मेद्वार बनाउन चाहने स्थानीय नेतृत्व चाहिं ३ बाट उनको नाम हटाएर १ मा मात्र सिफारिस गर्ने अडान लिँदा सहमति हुन नसकेको हो। नाम टुंगो लगाउन बसेको जिल्ला कमिटीको बैठक निश्कर्षविहीन भएको छ।
पाटिका उपाध्यक्ष विष्णु पौडेलको क्षेत्र नं. २, खिमलाल भट्टराईको क्षेत्र नं. ५ र पार्टी सचिव तथा प्रदेश इञ्चार्ज छबिलाल विश्वकर्माको क्षेत्र नं. १ बाट मात्रै उम्मेद्वारमा सिफारिस भइरहँदा पार्टीभित्र सधैं प्रतिपक्षको भूमिकामा रहेका नेता भुसालको नाम रुपन्देहीका दुईवटा क्षेत्रीय कमिटीले सिफारिस गरेपछि त्यसको असर लुम्बिनी प्रदेश कमिटीमा समेत पर्ने दखिएको छ।
भुसाललाई दबाबमा राख्न पार्टीको एउटा खेमाले भुसालको हाल प्रतिनिधि सभाका प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्र नं. ३ मा स्थानीय नेताहरु बासुदेव घिमिरे, दुर्गा भुसाल र पूर्वसांसद यज्ञजित शाहको नामसमेत सिफारिस गरिएको थियो। तर क्षेत्र नं. १ बाट समेत स्थानीय नेता कार्यकर्ताले भुसाललाई क्षेत्र नं. १ बाटै चुनाव लडाउनु पर्ने भन्दै छबिलाल विश्वकर्मासँगै उनको नाम पनि सिफारिस गरेपछि यतिबेला जिल्ला कमिटी अनिर्णयको बन्दी भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।