धनगढी– नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराइले निर्वाचन प्रणाली परिवर्तन नहुँदासम्म संसद् पूर्ण कार्यकाल चल्न नसक्ने भन्दै आगामी निर्वाचनबाट निर्वाचन प्रणाली परिवर्तन गर्न पहल गरिने बताएका छन्।
नेकपा (माआवादी केन्द्र)को चुनाव चिन्ह लगेर चुनावमा जाने निर्णय गरेका भट्टराईले पाँच दलसँग तालमेल गर्नुको तात्पर्य पनि निर्वाचन प्रणाली परिवर्तन गर्नु रहेको बताए।
‘अहिलेको निर्वाचन प्रणालीले कुनै एउटा दलको मात्रै बहुमत आउन सक्ने देखिँदैन’, सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ‘त्यसले संसदको आयु समेत घट्ने गरेको छ, यो समस्या समाधान गर्न प्रत्यक्ष निर्वाचन प्रणाली वा अन्य विकल्पबारे छलफल हुनु जरुरी छ।’ उनले त्यसका लागि संविधान संशोधन हुनु आवश्यक रहेको बताए।
संविधान संशोधनका लागि एउटा दल मात्रै चुनावमा जाँदा दुईतिहाइ मत नआउने भएका कारण पाँच दलीय गठबन्धनसहितको चुनावी तालमेल गरिएको अध्यक्ष भट्टराईको भनाई छ।
अध्यक्ष भट्टराईले एमाले अध्यक्ष ओलीबाट अझै प्रतिगमनको संभावना कायमै रहेका कारण पनि पाँच दलीय गठबन्धन गर्नुपरेको बताए। ‘दुई पटक संसद विघटन गरी संविधानलाईनै सिध्याउने सडयन्त्र गरेका ओलीको दम्भ अझै हटेको छैन,’ भट्टराईले भने, ‘त्यसलाई परास्त गर्नका लागि पनि पाँच दलीय गठबन्धको निरन्तरता आवश्यक छ।’
उनले शान्ति प्रक्रियादेखि संविधान निर्माण गर्ने र संसद जोगाउने कार्यमा तत्कालीन नेपाली कांग्रेस र नेकपा माओवादीको अहम भुमिका रहेको बताए। ‘शान्ति प्रक्रियादेखि संविधान जारी गर्ने समय सम्म एमालेको भूमिका सहायक मात्रै हो,’ उनले भने, ‘त्यसैले एमालेभन्दा तत्कालका पार्टीबीच चुनावी तालमेल सुहाउने देखिन्छ।’
पाँच दलभित्र सिट बाँडफाँडका लागि भएको झमेला स्वभाविक भएको भट्टराई बताउँछन्। ‘सबै दल आफूलाई बलियो रुपमा स्थापित गराउन चाहन्छन,’ भट्टराईले भने, ‘त्यसका लागि बढी सीट पाउनुपर्ने हुन्छ, तर यो समस्या होईन छिट्टै एउटा निष्कर्षमा पुगिनेछ।’
आफ्नो दलले भने अहिले धेरै आकांक्षा नराखेको बताउँदै उनले जित सम्भव भएका स्थानमा मात्रै सिट मागिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।