दाङ- नेपाली कांग्रेसकी पूर्व केन्द्रीय सदस्य तथा पूर्व प्रतिनिधिसभा सदस्य पार्वती डिसी चौधरीले आफ्नो विरुद्ध भ्रम छर्न खोजेको बताएकी छन् ।
नेतृ चौधरीले नेकपा (एमाले) की केन्द्रीय सदस्य कोमल वलीले भ्रामक कुरा लेखेर आफ्नो राजनीतिक चरित्र हत्या गर्न खोजेको भन्दै आक्रोश पोखिन् । ‘कोमल वली हिजो नाँच्दै गाउँदै राप्रपा हुँदै एमाले हुँदै सांसद बनेकी हुन् नि ?,’ चौधरीले भनिन्– ‘अर्काको चरित्र हत्या गर्न उनलाई जे पनि छुट छ भन्ने लेखिदिनुस् ।’
चौधरी २०७० सालको निर्वाचनमा दाङ-१ बाट नेपाली कांग्रेसबाट निर्वाचित भएकी थिइन् । पछिल्लो समय उनी समानुपातिक सांसद थिइन् । उनी दुई कार्यकाल कांग्रेसको केन्द्रीय सदस्य समेत भइन् । यसपटक उनी मनोनितमा नपरेपछि भने केही असन्तुष्टि पोख्दै आएकी छन् ।
एमाले नेतृ वलीले पछिल्लो समय सामाजिक सञ्जालमा लेखेको आफ्नो स्ट्याटस हटाइसकेकी छन् । त्यसविरुद्ध काँग्रेस नेतृ डिसीले भ्रम सिर्जना गर्न खोजेको भन्दै आक्रोस पोखेकी हुन् । एमाले नेतृ वलीले सोमबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेस नेतृ चौधरी एमालेमा पार्टी प्रवेश गरेको कुरा सार्वजनिक गरेकी थिइन् ।
वलीले लेखिकी थिइन्- ‘नेपाली कांग्रेस दाङबाट प्रतिनिधिसभा सदस्य माननीय पार्वती डिसी चौधरीलाई नेकपा एमालेमा स्वागत छ । आज म धेरै खुसी छु । दिदी भिनाजु मेरा प्रिय हुनुहुन्छ ।’
उनले यो स्ट्याटस लेखेलगत्तै बुझ्न सम्पर्क गर्दा वलीले सोमबार दिउँसो च्यासलमा एक कार्यक्रमका बीच कांग्रेस नेतृ पार्वती डिसी एमाले पार्टीमा प्रवेश गर्न थालेको फोनमा जानकारी दिएकी थिइन् । वलीले गलत कुरा लेखेर आफ्नो चरित्र हत्या गर्ने काममा लागेको भन्दै चौधरी क्रुद्ध बनेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।