काठमाडौं– नेकपा एमालेका महासचिव शंखर पोखरेल दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन्। उनी सर्वसम्मत रुपमा प्रतिनिधि सभा उम्मेदवार सिफारिस भएका हुन्।
एमाले महासचिव पोखरेल २०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्य उठेका थिए। पछि उनी लुम्बिनी (तत्कालीन प्रदेश ५) को मुख्यमन्त्री समेत भएका थिए।
२०७४ सालको निर्वाचनमा भने उक्त क्षेत्रबाट माओवादी केन्द्रका उम्मेदवार कृष्ण बहादुर महरा विजयी भएका थिए। एमाले र माओवादी केन्द्रको संयुक्त वाम गठबन्धन बन्दा पोखरेलले महराका लागि प्रतिनिधि सभाको सिट छाडेर प्रदेश सभा रोजेका थिए।
दाङ क्षेत्र नम्बर २ अन्तर्गत नै प्रदेश सभा (ख) बाट प्रदेश सभा सदस्य निर्वाचित भएका पोखरेल ३ वर्ष लुम्बिनीको मुख्यमन्त्री रहेका थिए।
यसपटक भने उनले प्रतिनिधि सभामा आउने बताएका थिए।
तत्कालीन समयमा वाम गठवन्धनका उम्मेदवारका रुपमा रहेका पूर्व सभामुख महरा यसपटक कांग्रेससँगको गठबन्धनका साझा उम्मेदवार बन्ने तयारीमा छन्। गठबन्धनबाट माओवादीका महरा उम्मेदवार भएमा यसपटक दाङ–२ को प्रतिस्पर्धा ‘रोचक’ बन्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।