काठमाडौं– मिर्गौला तस्करी गरेको आरोपमा पक्राउ परेका चार जना जेल चलान भएका छन्। काठमाडौं जिल्ला अदालतले उनीहरुलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो।
जेल चलान हुनेहरुमा नुवाकोटको शिवपुरी गाउँपालिका–७ का ४६ वर्षीय बादरे भनिने मुरली दमाई, सोही ठाउँका ३० वर्षीय राजु नेपाली, सोही ठाउँका २६ वर्षीय राजेश परियार र शिवपुरी–६ का ३० वर्षीय सानु भनिने सुवास नेपाली छन्।
अदालतको आदेशसँगै उनीहरुलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसपी तथा प्रवक्ता दानबहादुर मल्लले जानकारी दिए।
उनीहरुले एक व्यक्तिलाई गत वैशाखमा नुवाकोटको छहरेस्थित एक गाउँ भएको ब्रतबन्धमा बाजा बजाउन भन्दै बोलाएका थिए। राजेशको मोबाइलबाट फोन गर्दै ती व्यक्तिलाई बोलाएको र पछि भारतमा मःम पसलमा मासिक ३० हजार रुपैयाँमा काम लगाइदिने भन्दै प्रलोभन समेत देखाएको पाइएको छ।
त्यसपछि मुरली दमाईले ती व्यक्तिलाई राजु र राजेशको जिम्मा लगाई नुवाकोटबाट काठमाडौं पठाएका थिए। काठमाडौंको सामाखुसीमा रहेको एक मेडिकलमा ती व्यक्तिको मेडिकल जाँचदेखि मिर्गौला प्रत्यारोपण गर्दा गर्नुपर्ने जाँच समेत गराइएको थियो। त्यसपछि राजु र राजेशले ती व्यक्तिलाई काठमाडौंबाट काँकडभिट्टा हुँदै कलकत्ताको मुकुन्दपुरस्थित रबिन्द्रनाथ टैगोर अस्पताल पुर्याएका थिए।
उक्त अस्पतालमा पुर्याएपछि मिर्गौला निकाल्न लागेको थाहा पाएर ती व्यक्तिले नमान्दा सुई लगाई बेहोस बनाएर मिर्गौला निकालिएको प्रहरीले जनाएको छ। मिर्गौला तस्करले ६ लाख रुपैयाँमा ती व्यक्तिको मिर्गौला बेचेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पीडित व्यक्तिले मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उजुरी दिएपछि उनीहरुलाई साउन २२ गते पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो। पक्राउ परेका चारै जनालाई जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएसँगै उनीहरु जेल चलान भएका हुन्।
बादरे भनिनने मुरलीले मिर्गौला दाता खोज्ने, विभिन्न प्रलोभनमा पार्ने, सहयोगीमार्फत् एक ठाउँबाट अर्को ठाउँमा मानिस पठाउने तथा भेट गराउने काम गरेका थिए। राजुले भने मुरलीले पठाएका मानिसहरुलाई भेटी उनले भनेको ठाउँसम्म पुर्याउने र भारतसम्म लैजाने भूमिका निभाएको खुलेको छ।
राजेशले मिर्गौला बेचेको पैसा बाँडफाँट गर्ने र पीडितबाट समेत कमिसन लिएर खाने गरेको खुलेको छ। सुवासले मिर्गौला दाताको खोजी गर्ने, स्वास्थ्य जाँच गराउने र मिर्गौला झिक्न भारत पठाउने गरेको खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।