काठमाडौं– प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसदबाट राजीनामा दिएको घोषणा गरेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अब एक्लो सांसद् होइन बलियो पार्टी बनाएर संसद्मा उपस्थिति हुने बताएका छन्।
उनले पाँच वर्षको कार्यकालमा एक्लो सांसद भनेर कयौँ कानुनमा आफूलाई उपेक्षा गरिएको महसुस भएको बताए। अघिल्लो निर्वाचनमा राप्रपाबाट लिङ्देन मात्र निर्वाचित भएका थिए। समानुपातिकतर्फ राप्रपाको शून्य सिट थियो।
चुनावको मिति तोकिएसँगै संसद्को आयु सकिनुपर्नेमा सरकार फेरि कानुन बनाएरै संसद्को कार्यकाल लम्ब्याउन लागेको भन्दै लिङ्देनले राजीनामा दिएको उल्लेख गरेका छन्।
उनले प्रजातन्त्रलाई विश्वास गर्ने राजनीतिक दलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनुपर्ने बताएका छन्। ‘म संसद्मा आउन छाडेको थिएँ। तर, आज आएको छु। र, संसद्को आयु मंसिर ४ सम्म राख्ने सरकारको जुन तयारी छ त्यसले लज्जित र दु:खित तुल्याएको छ।’
उनले बाटो बाटोमा राजीनामा दिएँ भन्नुभन्दा संसद्मा आएर व्यक्तिगत रुपमा राजीनामाको घोषणा गरेको बताए। लिङ्देनले आफ्नो नाममा आउने तलब भत्ता रोक्का गर्न पनि अनुरोध गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।