फाइल तस्बिर।
काठमाडौं- संसद्को कार्यकाल लम्ब्याउने विधेयक प्रतिनिधि सभामा टेबुल हुने भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले 'केही नेपाल ऐन संशोधन गर्ने विधेयक' टेबल गर्न लागेका हुन्।
विधेयकमाथि नेमकिपाका सांसद प्रेम सुवालले विधेयकमाथि विरोधको सूचना दर्ता गराएका छन्। संसद् सचिवालयमा दर्ता भएको 'केही नेपाल ऐन संशोधन गर्ने विधेयक'मा प्रतिनिधि सभाको कार्यकाल नयाँ संसद्को पहिलो बैठक बसेपछि मात्रै समाप्त हुने उल्लेख छ ।
'... प्रतिनिधि सभाको नयाँ निर्वाचन भई त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रतिनिधि सभाको कार्यकाल स्वतः समाप्त भएको मानिनेछ', दर्ता गरिएको विधेयकमा भनिएको छ।
संशोधन गर्न लागिएको विधेयकमा प्रतिनिधि सभाको कार्यकाल गणना गर्दा त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट गणना गरिने उल्लेख छ। कार्यकालका सम्बन्धमा प्रतिनिधि सभाको जस्तै प्रदेश सभाका हकमा पनि राखिएको छ।
संसद् कायमै राख्ने र त्यस्तो संसद्को सांसदको रुपमा सम्पूर्ण सुविधा लिएर निर्वाचनमा सहभागी हुँदा प्रतिस्पर्धाको लागि समान वातावरण तयार नहुने भन्दै विज्ञहरुले विरोध जनाएका थिए। अझ उनीहरुले त निर्वाचन घोषणासँगै संसद् विघटन गरिनुपर्ने बताएका थिए। तर, सरकारले त्यसलाई बेवास्ता गरिदिएको हो।
निर्वाचन मंसिर ४ गतेका लागि तोकिएको छ। त्यसका लागि निर्वाचन कार्यक्रम पनि सार्वजनिक भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।