काठमाडौं– नेपाली महिलालाई कुवेत पुर्याएर १२ सय दिनारमा बिक्री गरेको आरोपमा पक्राउ परेकी एक महिला २ लाख रूपैयाँमै रिहा भएकी छिन्।
मानव बेचबिखनको आरोपमा पक्राउ परेकी नुवाकोटको ककनी गाउँपालिका–६ घर भइ काठमाडौं तारकेश्वर नगरपालिका–४ बस्दै आएकी ३२ वर्षीया निरु लामा २ लाख धरौटीमा रिहा भएकी हुन्। काठमाडौं जिल्ला अदालतले भदौ १५ गते २ लाख धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी रिहा भएकी हुन्।
उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले साउन २० गते पक्राउ गरेको थियो। फ्रि भिसा, फ्रि टिकटमा सरकारले घरेलु कामदारमा पठाउन रोक लगाएपछि कुवेतमा मासिक १२० दिनार कमाई हुने भन्दै लामाले विभिन्न प्रलोभन देखाएकी थिइन्।
गत वैशख ३ गते ती महिलालाई काठमाडौं बोलाएर नयाँ बसपार्कको एक होटलमा राखेर वैशाख लामाले २२ गते भिजिट भिसामा दुबई हुँदै कुवेत पठाएकी थिइन्।
कुवेतमा रहेका आफ्ना सहयोगीमार्फत् १२ सय दिनारमा घरेलु कामदारको रुपमा ती महिलालाई बिक्री गरी शारीरिक तथा मानसिक यातना दिई बन्धक बनाएर राखिएको पीडितको भनाइ छ।
नेपाल फर्कन खोज्दा ३ लाख ५० हजार चाहिन्छ भन्दै लामाले नै भन्ने गरेकी थिइन्।
पछि विभिन्न संघसंस्थाको सहयोगमा उनी साउन ८ गते नेपाल आएकी थिइन्। त्यसपछि लामाविरुद्ध उनले जाहेरी दिएकी थिइन्। लामालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले साउन २० गते पक्राउ गरेको थियो।
उक्त घटनामा अन्य व्यक्ति पनि संलग्न भएको र उनीहरुको खोजी भइरहेको ब्यूरोका प्रवक्ता, एसपी दानबहादुर मल्ले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।