काठमाडौं– रेड नोटिस जारी गरेर मकाउदेखि ल्याइएका ‘मानव तस्कर’ माइकल भनिने लमजुङको दोर्दी गाउँपालिका–१ का ३८ वर्षीय नारायण प्रसाद अधिकारी ३ लाख धरौटीमै रिहा भएका छन्।
मानव बेचबिखन तथा आसोरपसारको कसूरमा अनुसन्धान गरेर काठमाडौं जिल्ला अदालतमा पेस गरिएका अधिकारी रिहा भएका हुन्। काठमाडौं जिल्ला अदालतले बिहीबार अधिकारीलाई साढे ३ लाख धरौटीमा रिहा हुन आदेश दिएसँगै उनी धरौटी बुझाएर रिहा भएका हुन्।
लिबियास्थित एक क्यानेडियन कम्पनीमा महिनाको एक लाख ५० हजार रुपैयाँसम्म कमाइ हुने भन्दै प्रलोभनमा पारेर भिजिट भिसामा २०७५ माघ २ गते अधिकारीले केही व्यक्तिलाई नेपालबाट दुबई पुर्याएका थिए। दुबईमा पुगेपछि पीडितहरुसँग थप प्रतिव्यक्ति २५ सय अमेरिकी डलर लिई ट्युनिसिया हुँदै लिबियाको मिस्रतासम्म अधिकारीले पुर्याएको आरोप लागेको थियो।
अधिकारीसँगै सतिश घिमिरे, सलिम भनिने लिबियाका नागरिक समेतको संलग्नतामा करिब २० दिनसम्म ती व्यक्तिलाई नियन्त्रणमा राखेर सीजीएच अस्पतालमा सरसफाइको काममा लगाइदिएका थिए। राम्रोसँग खान, बस्न नदिई शारीरिक तथा मानसिक यातना दिइ राखेको अवस्थामा ती पीडित व्यक्तिलाई लिबियाबाट इटाली पठाउने भन्दै अधिकारीले थप १३ लाख ३६ हजार ८ सय रुपैयाँ रकम लिएर ठगी गरेको पाइएको थियो।
रकम लिएपछि इटाली पठाउनुको साटो एक महिनासम्म लिबियाको ओसामा जावायास्थित शरणार्थी क्याम्पमा राखिएको अवस्थामा इजिप्टस्थित नेपाली दूतावासको सहयोगमा ती व्यक्तिको उद्धार गरिएको थियो।
अर्का एक व्यक्ति भने लिबियाको शरणार्थी क्याम्पमा गोलाबारीसहितको आक्रमण हुँदा घाइते समेत भएका थिए। ती व्यक्तिको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
यही घटनामा संलग्न रहेका अधिकारीलाई काठामाडौं जिल्ला अदालतले ३५ दिनको म्याद राख्दै पक्राउ पूर्जी जारी गरेको थियो। फरार अधिकारीको खोजी तथा पक्राउ गर्न भन्दै प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमा पत्राचार गर्दै रेड नोटिस जारी गरिएको थियो।
इन्टरपोलकै सहयोगमा उनलाई भदौ १४ गते मकाउबाट काठमाडौं ल्याइ अदालतमा पेस गरिएको थियो। अदालतले साढे ३ लाख धरौटीमा रिहा हुन आदेश दिएसँगै उनी रिहा भएको मानव बेचबिखन अनुसन्धान ब्यूरोको प्रवक्ता, एसपी दानबहादुर मल्लले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।