काठमाडौं– कमल थापा नेतृत्वको राप्रपा नेपालले आसन्न निर्वाचनको लागि भदौ २१ गते भित्र संघ, प्रदेशको प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नामावली सिफारिस गरी केन्द्रमा पठाउन जिल्ला समितिहरुलाई निर्देशन दिएको छ।
अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको सचिवालय बैठकले यस्तो निर्देशन दिएको हो। यसै गरि बैठकले आगामी मंसिर ४ गतेको निर्वाचनलाई दृष्टिगत गरी निर्वाचन पूर्व तयारीका सन्दर्भमा समेत विभिन्न निर्णयहरु गरेको छ। साथै महामन्त्री सुशील श्रेष्ठले प्रस्तुत गरेको मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा कार्यक्रमलाई समेत बैठकले पास गरेको छ।
कार्यक्रम अनुसार मेचीको काँकडभिट्टाबाट भाद्र ३० गते बिहीबार सुरु हुने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा महाकालीको वनवासामा पुगी काठमाडौं आएर यात्राको समापन हुनेछ ।
यसै गरी विभिन्न समान विचारधारा भएका राजनीतिक दल, समूह तथा व्यक्तिहरुसँग आवश्यक छलफल, परामर्श र वार्ता गर्ने जिम्मेवारी पार्टीका उपाध्यक्ष एवं राजनीतिक विभाग प्रमुख दिलनाथ गिरीलाई दिने निर्णय भएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् ।
बैठकमा महामन्त्री भास्कर भद्राद्वारा प्रत्यक्ष र समानुपातिक उम्मेद्वारी, महामन्त्री केशवराज श्रेष्ठद्वारा सञ्चार, प्रवक्ता सुरेश आचार्यद्वारा प्रचारप्रसार र सहमहामन्त्री दमन बस्नेतद्वारा स्रोत परिचालन सम्बन्धी कार्य प्रगती विवरणबारे समेत महत्त्वपूर्ण छलफल भएको बर्तौलाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।