सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको नाम हुम्ला जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभाको आगामी निर्वाचनका लागि एकल उम्मेद्वारीमा सिफारिस भएको छ।
नेपाली कांग्रेसको बिहीबार दुई वटै प्रदेश कार्यसमितिले प्रतिनिधिसभा सदस्यका लागि शाहीको एकल नाम सिफारिस गरेको हो।
प्रदेश ‘ख’का सभापति तक्दीर लामाले प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ मुख्यमन्त्री शाहीको नाम सिफारिस गरिएको जानकारी दिए। ‘दुवै प्रदेश कार्यसमितिमार्फत प्रतिनिधिसभा सदस्यका लागि मुख्यमन्त्रीज्यूको एकल नाम सिफारिस गरेका छौं, प्रदेशसभा सदस्यका लागि पनि उहाँको एकल नाम सिफारिस भएको छ,’ प्रदेश सभापति लामाले भने।
‘उहाँ प्रदेश र संघ दुबै ठाउँका लागि उपयुक्त भएकाले दुवैतर्फ एकल नाम सिफारिस गरेका हौं।’मुख्यमन्त्री शाही नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् केन्द्रीय कार्य सम्पादन समितिका पनि सदस्य हुन्।
प्रदेश ‘क’का सभापति मानदेव शाहीले गठबन्धन हुने भएकाले दुवैतर्फ नाम सिफारिस गरिएको बताए। ‘कर्णाली प्रदेशको मुख्यमन्त्री भएपछि प्रदेशका लागि उहाँले उल्लेख्य काम गर्नुभएको छ, संघमा हुँदा पनि धेरै महत्वपूर्ण कामहरु गर्नुभएको छ,’ शाहीले भने, ‘हुम्लाका लागि उहाँ सर्वमान्य नेता हो, त्यहीभएर दुवैतर्फ एकल नाम सिफारिस गरेका हौं।’
प्रदेश ‘क’ले प्रदेशसभा प्रत्यक्षतर्फ थप मानदेव शाही, अर्जुन महतारा र मंगलबहादुर शाहीको पनि नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ राम टमट्टा, सविता ऐडी, मैना बुढा र मिमबहादुर शाहीको नाम सिफारिस गरिएको छ। प्रदेश ‘ख’ले प्रदेशको समानुपातिकनतर्फ पदमबहादुर लामा, विजया बुढा र रिता लामाको नाम सिफारिस गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।