काठमाडौं– राष्ट्रिय सभामा बिहीबार नागरिकता विधेयक पारित गर्ने कार्यसूची तय भएको भएपनि पारित भएन।
राष्ट्रिय सभामा नागरिकता विधेयकमाथिको छलफलका क्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले बोल्ने सांसदहरुका लागि समय नतोकि खुल्ला छोडेपछि बिहीबार विधेयकमाथि सांसदहरुले आफ्नो विचार राख्ने क्रम नै सकिएन।
अन्तिम वक्तामा रुपमा नेपाली काग्रेसका सांसद जितेन्द्र नारायाण देवले आफ्ना कुरा राखेका थिए। उनीपछि बोल्ने सांसदहरुको नाम सभालाई प्राप्त भएको, उनीहरुको समय बाँकी नै रहेकाे र बोल्नेक्रम नसकिएकाले अर्को वैठकमा छलफल जारी रहने अध्यक्ष तिमल्सिनाले जानकारी गराउदै वैठक स्थगीत गरे। अर्को बैठक भदौ १७ गते ३ बजेलाई तोकिएको छ।
विधेयक फिर्ता
राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे टिप्पणी गरेर विधेयक फिर्ता पठाएकी थिइन्। राष्ट्रपतिले फिर्ता पठाएको विधेयकलाई प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरेको थियो। प्रतिनिधि सभाबाट उक्त विधेयक राष्ट्रिय सभामा आएपछि विधायन व्यवस्थापन समितिमा पठाइएको थियो। उक्त समितिले २ दिन छलफल गर्दै बहुमतले पारित गरेर राष्ट्रिय सभामा पेश गरेको थियो।
सरकारले उक्त विधेयक छिटै पारित गर्न खोजेको छ, तर प्रमुख प्रतिपक्षी नेकपा (एमाले) भने रोक्ने रणनीतिमा रहेको छ। त्यहीकारण राष्ट्रिय सभामा आएको विधेयक एमालेका सांसदहरुले विधायन समितिमा पठाउने शर्त राखेका थिए। समितिमा पठाएर आएपछि छिटै पारित गर्ने सोचमा रहेको सरकारलाई अध्यक्ष तिमल्सिनाले बोल्ने समय नै नतोकि खुल्ला छोडेपछि लम्बिएको हो।
शुक्रबार बाँकी सासदहरुले आफ्नो कुरा राखेपछि यो पारितको प्रक्रियामा जानेछ। राष्ट्रिय सभाबाट पारित भएपछि यसलाई पुनः प्रमाणीकरण गर्न राष्ट्रपति कार्यालय पठाइनेछ। राष्ट्रपतिले प्रमाणित गरेपछि यो लागू हुनेछ। सरकारले मंसिर ४ गते हुने निर्वाचनअघि यसलाई पारित गरेर निर्वाचनमा होमिने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।