सुर्खेत– नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस भएका छन्।
क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ को बिहीबार छिञ्चुमा बसेको बैठकले प्रत्यक्षतर्फ खड्काको नाम सर्वसम्मत सिफारिस गरेको हो। प्रतिनिधिसभाका साथै प्रदेशसभा समितिबाट सिफारिस भई आएका नाम बैठकले अनुमोदन गरी जिल्ला कार्य समितिमा पठाउने निर्णय भएको क्षेत्रीय कार्यसमिति सचिव मोहन रानाले जानकारी दिए।
सुर्खेत–१ बाट समानुपातिकतर्फ ज्ञानु भुसाल र नरहरि भट्टराईको नाम सिफारिस गरिएको छ। क्षेत्र नं १ प्रदेशसभा (क) बाट प्रत्यक्षमा जिल्ला सभापति खड्कबहादुर पोखरेल, केशर वली, चित्रबहादुर रेग्मी र टेकबहादुर सिंह तथा समानुपातिकतर्फ अनन्तप्रसाद पौडेल, खिमानन्द ढकाल, तेजबहादुर खत्री, धनसरा शाही, नरबहादुर सुनार, नारायण सापकोटा, बलिमाया बुढा, यामलाल पङ्गाली र सुशीला कार्कीको नाम सिफारिस गरिएको रानाले बताए।
यस्तै प्रदेशसभा (ख) मा प्रत्यक्षतर्फ प्रदेशसभा सदस्यमा भूपेन्द्र चन्द, भूपेन्द्रबहादुर सुवेदी, अमृता शाही, मानबहादुर बुढामगर, हरिप्रसाद शर्मा र लक्ष्मीदत्त पौडेलको नाम सिफारिस गरिएको छ। समानुपातिकमा झकबहादुर डाँगी, खगीसरा आचार्य,रेणु आचार्य, लिलामती विक, प्रेमबहादुर विक, टोपबहादुर टङ्लामी मगरको नाम सिफारिस गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।