काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयक राष्ट्रिय सभाबाट बिहीबारै पारित हुने भएको छ। फिर्ता विधेयक भदौ २ मा प्रतिनिधि सभाबाट दोस्रोपटक पारित भएको थियो।
राष्ट्रिय सभाको बिहीबारको पहिलो बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस भएको थियो। राष्ट्रिय सभाको बैठकमा समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले प्रतिवेदन पेश गरेका हुन्।
बिहीबारको दोस्रो बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ। त्यस्तै, सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ। दुवै प्रस्ताव गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गर्ने कार्यसूची छ।
यसअघि प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको विधेयक साउन २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाइदिएकी थिइन्। तर, प्रतिनिधि सभाले कुनै हेरफेर नगरी पुरानै प्रावधानसहित विधेयकलाई दोस्रोपटक पारित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।