काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका समूहहरुले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका छन्।
ललितपुरको हेरिटेज गार्डेनमा बिहीबार एक कार्यक्रम गर्दै उनीहरुले यस्तो अभियान घोषणा गरेका हुन् । वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा स्वतन्त्रहरुले लौरो चिह्न लिएर उठेका थिए । त्यसमध्ये काठमाडांै महानगरपालिकामा बालेन शाह र धरान उपमहानगरमा हर्क साङ्गपाङ्गले निर्वाचन जिते । यही अभियानमा जोडिएका सुमन सायमीको नेतृत्वमा अभियानको घोषणा गरिने गरिएको हो।
स्वतन्त्र उम्मेदवारहरुले साझा चुनाव चिन्ह, साझा घोषणा पत्र र साझा उम्मेदवारका लागि अभियान घोषणा गरिएको संयोजक सायमीले बताए।
यो अभियानले प्रतिनिधि सभा तर्फ ६ क्षेत्रमा उम्मेदबारको नाम पनि घोषणा गरेको छ। सुमन सायमीले काठमाडौं क्षेत्र नं. ८ बाट उम्मेद्वारी दिने घोषणा गरेका छन्।
त्यस्तै काठमाडौंबाट नै मधुसुदन पाठक ‘सिते बा’ क्षेत्र नं. ५, विद्या श्रेष्ठ महर्जन क्षेत्र नं. ९ , रोहन कार्की– क्षेत्र नं. २ बाट निर्वाचन लड्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यस्तै भीष्म राणा रुपन्देही क्षेत्र नं. ५ र राजाराम तण्डुकार–ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाको उम्मेदबार हुने अभियानले जनाएको छ।
त्यस्तै उनीहरुले प्रदेश सभातर्फ ४ क्षेत्रमा उम्मेद्वारको नाम घोषणा गरेका छन् । विनोद बजगाईं काठमाडौं २ ‘क’, अनिलकुमार पाण्डे–महोत्तरी २ ‘ख’, गजेन्द्र कुमार भगत–उदयपुर २ ‘क’ र विजय कालिकोटे–सुनसरी १ ‘क’ बाट उम्मेद्वारी दिने अभियानले घोषणा गरेको छ । स्थानीय निर्वाचनमा स्वतन्त्रप्रति जनताले देखाएको उत्साहले यसपटक उनीहरुले घोषणा गरेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।