काठमाडौं– जिउँदा व्यक्तिलाई इटाभट्टामा हालेर सामूहिक हत्या गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका मोहम्मद अफताब आलमलाई नेपाली कांग्रेस रौतहटले प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारका लागि सिफारिस गरेको छ।
नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर २, क्षेत्रीय कार्यसमितिले बिहीबार आलमको नाम सर्वसम्मत रुपमा प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवारका लागि सिफारिस गरेको हो। आलमसँगै महिलाबाट अञ्जु झाको नाम समेत सिफारिस गरिएको छ।
आलममाथि २०६४ सालको संविधान सभा चुनावलाई प्रभावित पार्न बम विस्फोटको योजना बनाएको, बम बनाउँदा विस्फोट भएर घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा पोलेर हत्या गरेको आरोप छ।
जिल्ला सरकारी वकिल कार्यालय रौतहटले दायर गरेको अभियोगपत्रमा आलमविरुद्ध ४५ वर्ष कैद सजाय मागदाबी गरिएको छ। आलमलाई त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम बिस्फोट गराइ घाइते भएको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १० वर्ष र विष्फोटक पदार्थसम्बन्धी कसुरमा १० वर्ष गरी ४५ वर्ष कैद सजाय हुनुपर्ने मागदाबी गरिएको छ।
उक्त मुद्दामा जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। आलम हाल ललितपुरको नख्खु कारागारमा थुनामा छन्।
आफूलाई थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दिएका छन्। उनको निवेदनमा सुनुवाइका लागि पेसी तोकिँदै, सर्दै गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।