काठमाडौं– महाभियोगको सामना गरिरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संसद्को महाभियोग सिफारिस समिति समक्ष दोस्रो दिन पनि बयान दिएका छन्। बिहीबार बिहान ११ बजेका लागि बोलाइएको समितिको बैठकमा उनी सहभागी थिए।
बुधबार ३ घण्टा बढी बयान दिएका राणाको बिहीबार भने करिब २ घण्टा बयान चलेको थियो। भोलि (शुक्रबार) सदन रहेको र पर्सि शनिबार भएकाले समितिको अर्को बैठक भदौ १९ गते (आइतबार) बिहान ११ बजे बस्ने गरेर स्थगित भएको समितिको सभापतित्व गरिरहेका रामबहादुर विष्टले जानकारी दिए।
‘उहाँ (राणा)ले आफ्नो किसिमले जवाफ दिनुभएको छ। त्यो अहिले नै फाइनल हुने कुरा भएन। जवाफ दिइराख्नुभएको छ। हामीले प्रश्न सोधिरहेका छौँ। हाम्रो कति चित्त बुझ्यो वा बुझेन भन्ने कुरामा हामी फेरि पनि बसेर छलफल गरौँला’, विष्टले भने।
राणाविरुद्ध गत फागुन १ गते ९८ सांसदले संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका थिए। केही महिना स्थगित गरिएको सो प्रस्तावमाथिको कारबाही गत साउन अन्तिमपछि पुनः सुरु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।