काठमाडौं– आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक बिहीबार पनि जारी छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा सिट बाँडफाँटको मोडालिटीबारे छलफल भइरहेको नेताहरुले जानकारी दिएका छन्।
यसअघि बिहीबार नै गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो। शीर्ष नेताहरुको बैठकमा विवादित विषयमा छलफल भएपनि कुनै सहमति भने भएको थिएन।
शीर्ष नेताको बैठक सकिएलगत्तै कार्यदलको बैठक बसेको हो।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले यसअघि सिट बाँडफाँट विषय टुंग्याउन नसकी शीर्ष नेताहरुलाई ‘अधुरो’ प्रतिवेदन बुझाएको थियो। शीर्ष नेताहरुको बैठकले बाँडफाँटका मापदण्ड तय गर्न भन्दै पुन: कार्यदललाई जिम्मेवारी दिएको थियो।
प्रतिनिधि सभा र प्रदेश सभाका सिटहरुमा गठबन्धनका दलहरुको आ–आफ्नै दाबी छन्। नेपाली कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १०० सिटमा दाबी गरेको छ भने माओवादी केन्द्रले ६० सिटमा दाबी गरेको छ।
यस्तै, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३५ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।