काठमाडौं– प्रतिनिधि सभाको एकमात्र निर्वाचन क्षेत्र भएको धनकुटामा नेपाली कांग्रेसका उम्मेदवारका रुपमा सुनिलबहादुर थापा सर्वसम्वत रुपमा सिफारिस भएका छन्। थापा २०७७ साउनमा राप्रपाबाट नेपाली कांग्रेस प्रवेश गरेका थिए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य थापा धनकुटाबाट प्रतिनिधिसभाको उम्मेदवारका रुपमा सर्वसम्मत सिफारिस भएका हुन्।
नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको बैठकले विहिबार सर्वसम्पत रुपमा एकल उम्मेदबारको रुपमा थापाको नाम सिफारिस गरेको हो।
तत्कालीन राप्रपाका नेता थापालाई २०७४ सालको निर्वाचनमा पनि नेपाली कांग्रेसले सहयोग गरेको थियो। त्यतिबेला थापा वाम गठवन्धनका उम्मेदबार राजेन्द्रकुमार राईसँग पराजित भएका थिए।
राईले ३७ हजार ३३३ मत ल्याएर जित हासिल गरेका थिए भने थापाले २६ हजार ८ सय ७४ मत प्राप्त गरेका थिए।
थापा २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा राप्रपाको तर्फबाट धनकुटा २मा उम्मेदबार हुँदै निर्वाचित भएका थिए। उनी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री समेत भएका थिए।
राप्रपा परित्याग गर्दै नेपाली कांग्रेस प्रवेश गरेपछि थापा पहिलोपटक उम्मेदबारको रुपमा सिफारिस भएका हुन्। राप्रपाका संस्थापक नेता सुर्यवहादुर थापाका छोरा सुनिलले आफूसँगै केही नेता कार्यकर्तासहित कांग्रेस प्रवेश गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।