काठमाडौं– नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य स्व प्रदीप गिरीको स्मृतिमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको छ। स्व गिरीको १३औँ पुण्यतिथिका अवसरमा काठमाडौँ क्षेत्र नं ४ का सांसदको कार्यालयको आयोजनामा गौशालास्थित भण्डारखाल चौरमा एक सय आठ बिरुवा वृक्षरोपण गरिएको हो।
कार्यक्रममा कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्व गिरी प्रकृतिप्रेमी भएकाले उनको आत्माको शान्तिका लागि सामूहिक वृक्षरोपणको आयोजना गरेको बताए। “स्व गिरी जहाँ गए पनि रुखको छहारीमा बस्नुहुन्थ्यो, प्रकृतिसँग रमाउने उहाँको बानी थियो, उहाँको आत्माको शान्तिका लागि हामीले उहाँको पुण्यतिथिका अवसर पारेर सामूहिक वृक्षरोपण आयोजना गरेका हौँ”, उनले भने।
महामन्त्री थापाले स्व गिरीको भौतिक शरीर हामीमाझ नरहे पनि उनको विचार, सिद्धान्त र आदर्शलाई कांग्रेसले सधैँ अनुशरण गरेर अगाडि बढ्ने स्पष्ट पारे। उनले स्व गिरीको स्मृतिमा देशभर वृक्षरोपण गर्नसमेत सबैलाई आग्रह गरे।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतम, बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्य, कांग्रेस नुवाकोटका पूर्वसभापति एवं पूर्वसांसद जगदीश्वरनरसिंह केसीलगायतको सहभागिता रहेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।