पोखरा– आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि कास्कीबाट नेपाली कांग्रेसमा उम्मेदवारका आकांक्षीको लर्को लागेको छ।
कांग्रेसबाट प्रतिनिधि सभातर्फ कास्कीका क्षेत्र नम्बर १ र ३ मा चुनाव लड्न चाहने आकांक्षीको नाम बुधबार सार्वजनिक भएको छ। कास्की २ को बिहीबार (आज) बैठक बसी टुंगो लाग्दै छ ।
१ र ३ नम्बर क्षेत्रबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ २ सिटमा २६ जनाले नाम दर्ता गराएका छन्। समानुपातिकतर्फ भने त्योभन्दा धेरैले आकांक्षा व्यक्त गरेका छन्। प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ कांग्रेसबाट १७ जनाले चुनाव लड्ने आकांक्षा व्यक्त गरेको कास्की १ का क्षेत्रीय सचिव सरोज केसी जानकारी दिए ।
क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ कृष्णबहादुर केसी, गुरुप्रसाद बराल, सुदीपमोहन भट्टराई, जीवन परियार, तिलकबहादुर रानाभाट, विश्व घिमिरे, बीरबहादुर बुढाथोकी, कृष्ण कार्की, रामबाबु भण्डारी, डा. दीपक सुवेदी, होमबहादुर बसेल विमल, सुनील गुरुङ, किशोरदत्त बराल, चतुराखर अधिकारी, सरस्वती गुरुङ र यज्ञबहादुर थापाले चुनाव लड्ने आकांक्षा व्यक्त गरेका छन् ।
यो क्षेत्रको समानुपातिकतर्फ तारानाथ रानाभाट, सरस्वती गुरुङ, तीर्थ जंगली, राजकुमार गुरुङ, सूर्यप्रसाद भण्डारी, खलिल मियाँ, बिन्दु भण्डारी, इन्जिनियर रामबहादुर केसी र तर्कजंग गुरुङले उम्मेदवार बन्न नाम दर्ता गराएका छन्।
प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ कांग्रेसबाट ९ जनाले आकांक्षा व्यक्त गरेको नेपाली कांग्रेस पूर्वमहाधिवेशन प्रतिनिधि राजबहादुर गुरुङले जानकारी दिए। मनोज गुरुङ, गंगाधर पराजुली, बाबुराम आचार्य, आसबहादुर गुरुङ, ललित गुरुङ, रामचन्द्र त्रिपाठी, पशुपति भट्टराई, दीपक गुरुङ र इन्जिनियर यमकृष्ण पौडेलले प्रत्यक्षतर्फ चुनाव लड्ने आकांक्षा जनाएका हुन् ।
उक्त निर्वाचन क्षेत्रमा समानुपतिकतर्फ महादेव गुरुङ, खिमलाल बास्तोला, गंगा केसी, शारदा पौडेल, खेमराज पौडेल, कृष्णकुमारी परियार, अब्दुल रसिद, मनबहादुर विक, रामप्रसाद अधिकारी र अमृत श्रेष्ठले चुनाव लड्ने आकांक्षा राखेका छन्।
अधिकतम प्रयास गर्दा पनि सहमति नहुँदा धेरै नाम सिफारिस भएको नेपाली कांग्रेस गण्डकी प्रदेश प्रचारप्रसार समिति सदस्य राजबहादुर गुरुङले बताए। केन्द्रले प्रत्यक्ष र समानुपातिकमा ३/३ जनाको नाम सिफारिस गर्न भने पनि सहमति हुन नसक्दा धेरै नाम सिफारिस हुन पुगेको गुरुङले बताए । पार्टीमा योगदान दिएका, निरन्तर क्रियाशील तथा सबै क्षेत्रलाई समेट्दै उम्मेदवार टुंग्याउनुपर्नेमा उनले जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।