काठमाडौं– विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग नजिकिएका छन्। विवेकशील साझाका आफूपक्षीय नेता–कार्यकर्तासहित राप्रपामा जाने तयारी स्वरुप छलफल चलाएका छन्।
मिश्रसँग केही चरण कुराकानी भएको महामन्त्री भुवन पाठकले बताए। राप्रपामा आउने कुरामा मिश्र सकारात्मक रहेको बताउँदै समायोजनका विषयमा छलफल बाँकी रहेको बताए।
मिश्रको अपेक्षा अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरियता रहेको पद दिनुपर्ने रहेको छ। यस विषयमा राप्रपाभित्रै बृहत् छलफल नभएका कारण मिश्र प्रवेश गर्ने टुंगो भने नलागेको उनी बताउँछन्। उनले भने, ‘एक दुईपल्ट कुराकानी भएको छ। संवाद सकारात्मक छ। तर बाँकी विषयमा प्रवेश गरिसकेका छैनौं।’
पार्टीमा निर्वाचित पदाधिकारी रहेकाले मिश्रलाई सहमहामन्त्री मात्रै दिनुपर्ने आवाज राप्रपाभित्र छ। यही विषयलाई मिलाउन मुश्किल परेका कारण एकता प्रक्रिया परिणाममा नपुगेको पाठकले संकेत गरे।
विवेकशील साझामा विवाद आएपछि मिश्र अध्यक्षबाट बाहिरिएका छन्। आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ बाट उम्मेदवारी दिने तयारी गरिरहेका उनले राप्रपासँगै नेकपा एमालेको समेत साथ खोजेका छन्। राप्रपासँग एकताकै छलफल गरेका उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समेत कुराकानी गरेका छन्। काठमाडौं १ मा एमालेले उम्मेदवार नउठाएर गठबन्धनका विरुद्ध आफूलाई उभ्याउँदा सहज हुने उनको ब्रिफिङ छ।
गत निर्वाचनमा पनि मिश्र यही निर्वाचन क्षेत्रबाट चुनाव लडेका थिए। कांग्रेस नेता प्रकाशमान सिंहसँग उनी ९ सय ८१९ मतले पराजित भएकका थिए। सिंहले १० हजार ९ सय ३७ मत पाएका थिए भने रविन्द्र मिश्र १० हजार ११८ मत पाएर दोस्रो स्थानमा रहे। वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले भने ५ हजार ३३५ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।