फाइल तस्बिर
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र माओवादी केन्द्रका नेताहरुबीच भेट भएको छ। बुधबार राष्ट्रपति निवास शीतलनिवासमा भेट भएको हो। भेटका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पार्टीका नेताहरुको नेतृत्व गर्दै पुगेका थिए।
भेटमा राष्ट्रपति भण्डारीले नागरिकता विधेयकबारे चासो राखेको प्रचण्डका स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन्। प्रचण्डले पनि अंगीकृत नागरिकताको बारेमा राष्ट्रपतिले राखेको चासो र आफूहरुको धारणा समान रहेको बताएका थिए।
'संसद्मा यो विषयमा राष्ट्रिय सहमति बन्न सकेन। त्यसकारण यो विषयमा विधेयकमा कुनै नयाँ व्यवस्था गरिएको छैन। यसबारे हाम्रो धारणा संसदमा रेकर्ड गराएका छौं। सरकारले पनि यसबारे राष्ट्रिय सहमति बनाएर विधेयक ल्याउने प्रतिबद्धता जनाएको छ', प्रचण्डको भनाइ उद्धृत गर्दै दाहालले फेसबुकमा लेखेकी छिन्।
प्रचण्डले तत्काल जन्मसिद्ध नागरिकका सन्ततिहरु राज्यविहीन बन्ने अवस्था अन्त्य गर्नका लागि नागरिकता विधेयक ल्याइएको प्रष्ट पारेका थिए। 'र, यो विधेयक (केपी) ओलीजीले पेस गरी राष्ट्रपति(तपाईं)द्वारा प्रमाणीकरण गरिएको अध्यादेशको व्यवस्था अनुसार रहेको छ। यसलाई अनावश्यक राजनीतिकरण गरिनु दु:खद छ', प्रचण्डको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।