काठमाडौं– नेपाली कांग्रेसका पूर्व पदाधिकारी र वर्तमान पदाधिकारीले आगामी निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि चुनावी मैदानमा कांग्रेसले समेट्नुपर्ने सुझाव दिएका छन्।
बुधबार बसेको पूर्व पदाधिकारी र वर्तमान पदाधिकारीको बैठकले नेतृत्वलाई यस्तो सुझाव दिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावबारे छलफल गर्न बोलाएको बैठकमा उनीहरुले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा लोसपालाई पनि कांग्रेसले समेट्नुपर्ने सुझाव दिएको बताइएको छ।
छलफलका क्रममा नेता शेखर कोइराला र विमलेन्द्र निधिले लोसपालाई पनि चुनावी गठबन्धनमा समेटेर जानुपर्ने सुझाव सुझाव दिएका हुन्।
पाँच दलीय गठबन्धनमा रहेको नेपाली कांग्रेससँग चुनावी गठबन्धनका लागि लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुले पटक–पटक छलफल गरिसकेका छन्।
आगामी निर्वाचनमा बहुमत ल्याउन र मधेशमा कांग्रेसको उपस्थिति बलियो बनाउनका लागि लोसपासँग सहकार्य आवश्यक रहेको कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए।
जनता समाजवादी पार्टीबाट विभाजित भएको लोसपासँग गठबन्धन गरेर अघि बढ्दा मधेश प्रदेशमा कांग्रेसलाई थप फाइदा पुग्ने सहमहामन्त्री यादवको भनाइ छ।
मधेशमा कांग्रेसलाई बलियो बनाउनका लागि गठबन्धनमा लोसपालाई पनि सँगै लैजानुपर्ने सुझाव दिइएको यादवले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।