काठमाडौं- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले महाभियोग सिफारिस समितिसमक्ष आफ्नो बयान दिएका छन्। उनले बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिएका हुन्।
'आज हामीले प्रश्न गर्यौं। केही सैद्धान्तिक प्रश्नका साथ सुरुआत गरिएको थियो। उहाँले कुनै प्रमाणभन्दा पनि भावनात्मक टाइपमा आफ्ना कुरा राख्नुभयो। तर ठोस रुपमा कुनै प्रमाणहरु लिएर आउनुभएको छैन', समिति सदस्य तथा एमाले सांसद कृष्णभक्त पोखरेलले भने।
पोखरेलले आफूहरुले ४३/४४ वटा प्रश्न तयार गरेको र त्यसबाहेक पनि सांसदहरुको थप प्रश्न गरी राणाले १००/१५० प्रश्नको जवाफ दिन जरुरी हुने बताए। 'त्यसबाट तथ्य प्रमाणको आधारमा जे निष्कर्ष निस्किएला। हामी एउटा निष्कर्षमा पुग्छौं। हामी खुला दिमागका साथ छलफलमा छौं', उनले भने।
पोखरेलले अहिले नै राणालाई दोषी वा निर्दोषी नभन्ने बरु प्रमाणले देखाए अनुसार निष्कर्षमा पुग्ने बताए। 'अहिलेसम्मका तथ्यले उनले लगाएका अभियोगमा इन्कार गर्न सकिने गरी तथ्यहरु साथमा लिएर आएर प्रस्तुत गर्नुपर्थ्यो। त्यो चिजचाहिँ देखिँदैन', उनले भने, 'तर पूरै प्रश्नको जवाफ नआएसम्म एउटा निष्कर्षमा पुग्न सकिने अवस्था छैन।'
राणामाथि सांसदहरुको प्रश्न सोध्ने क्रम जारी छ। उनलाई भोलि पनि बयानका लागि बोलाइएको छ। प्रश्न नै तीनचार दिनसम्म लगातार जाने पोखरेलले आकलन गरे।
राणाविरुद्ध गत फागुन १ गते सत्तापक्षका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।