काठमाडौं– संसदीय समितिमा बयानका लागि उपस्थित निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूविरुद्ध गत फागुन १ गते संसद् सचिवालयमा दर्ता भएको महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको दाबी गरेका छन्।
संसद्को महाभियोग सिफारिस समितिसमक्ष बुधबार बयानका लागि उपस्थित भएका राणाले आफू न्यायका लागि उपस्थित भएको र समितिले आफूलाई न्याय दिने विश्वास रहेको बताए।
बजेट अधिवेशन अगाडि संघीय संसद्को अधिवेशन समाप्त हुँदा नै आफू विरुद्धको महाभियोगको औचित्य समाप्त भइसकेको राणाले जिकिर गरे। आफूपछिको रोलक्रममा रहेका दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउनका लागि महाभियोग ल्याइएको र अहिले पनि त्यही उद्देश्यले कायम राखिएको राणाले दाबी गरे।
अहिले संसद्बाट आफूमाथि अन्याय भएको बताउँदै राणाले आफू न्याय माग्नका लागि समितिमा उपस्थित भएको समेत दाबी गरे।
संसद्ले संविधान र संसदको नियमावली विपरीत काम गरेर आफूविरुद्ध महाभियोग कायम राखेको चोलेन्द्रले आरोप समेत लगाए। ‘संविधान र नियमावली संसदले पालना गरेन। यो प्रस्ताव निष्क्रिय भइसकेको छ,’ उनले भने ‘ म नागरिकको हिसाबले संसद्को सम्मानका लागि आएको हुँ।’
आफूलाई सर्वोच्चमै हुँदा कार्कीलाई प्रधानन्यायाधीश बनाउन प्रस्ताव आएको, तर आफूले अस्वीकार गरेको उनको भनाइ छ। उनले आफू विधि र प्रक्रिया पूरा गरेर आएकाले सोही विधिअनुसार बाहिर जान तयार रहेको कुरा भन्दै आएको बताए। तत्कालीन समयमा सहकर्मी न्यायाधीशहरुले प्रश्न उठाएर राजीनामा दिन सुझाव दिँदा पनि राणाले यही विषयलाई दोहोर्याएका थिए।
राणाले समितिमा लिखित रुपमा आफ्नो कुरा राखेका छन्। राणाले आफ्ना कुरा राखेपछि सांसदहरुले प्रश्न सोध्न थालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।