काठमाडौं– संसद्को महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग बयान लिन सुरु गरेको छ। झण्डै २ घण्टाको प्रतीक्षापछि समितिले बयान लिन सुरु गरेको हो।
राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधि सभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए। त्यतिबेलै महाभियोग सिफारिस समिति गठन भएको भए पनि अन्य प्रक्रिया अगाडि बढेका थिएन। साउनमा सो प्रस्तावलाई महाभियोग सिफारिस समितिमा पठाइएपछि छानबिन अगाडि बढेको हो।
समितिले केही दिन अगाडि मात्रै राणाको बयान लिने निर्णय गर्दै उनीविरुद्ध प्रमाण पेस गर्न सार्वजनिक सूचना जारी गरेको थियो।
संस्थागत रुपमा नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार एशोसिएसन, पूर्व न्यायाधीश फोरमले प्रमाण पेस गरेका छन्। व्यक्तिगत रुपमा ४ थान प्रमाण इमेलमार्फत् पनि समितिमा दर्ता भएको समितिका सचिव लक्ष्मी गौतमको भनाइ छ।
समितिसमक्ष बयानका लागि राणा बुधबार बिहान ११ नबज्दै संघीय संसद् सचिवालयमा उपस्थित भएका थिए। सचिवालयका अधिकारीहरुले केही प्राविधिक विषय मिलाउनुपर्ने भन्दै उनको बयानमा ढिलाइ हुने बताएका थिए।
करिब २ घण्टाको प्रतीक्षापछि राणाको बयान सुरु भएको हो। समितिले राणाको बयानको भिडियो अभिलेख राख्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।