काठमाडौं– संघीय संसद्को महाभियोग सिफारिस समितिले आज (बुधबार) निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग बयान लिँदै छ।
राणाविरुद्ध गत फागुनमा संसद् सचिवालयमा पेस भएको महाभियोग विचाराधीन अवस्थामा छ। फागुनमा नै गठन भएको महाभियोग सिफारिस समितिले चोलेन्द्र विरुद्धको महाभियोगमा करिब ६ महिनापछि प्रक्रिया अगाडि बढाएको हो।
समितिले केही दिन अगाडि राणाविरुद्ध प्रमाण पेस गर्ने सार्वजनिक सूचना जारी गरेको थियो। संस्थागत रुपमा नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार एशोसिएसन, पूर्व न्यायाधीश फोरमले आफूसँग भएको प्रमाण पेस गरेका छन्। व्यक्तिगत रुपमा चार थान प्रमाण इमेलमार्फत् पनि समितिमा दर्ता भएको समितिका सचिव लक्ष्मी गौतमले बताए।
व्यक्तिगत रुपमा राणाविरुद्ध प्रमाण पेस गर्नेमा काभ्रेपलाञ्चोकका उमेश बानियाँ र अरु तीन जनाको नाम गोप्य राखिएको छ।
उनीहरुले विभिन्न मितिमा गरेका फैसला, न्याय परिषद्मा हुँदा गरेको निर्णय र सर्वोच्च अदालतमा रहँदा गरेको कार्यसम्पादनसँग सम्बन्धित रहेका छन्। समितिले केही दिनअघि राणाविरुद्ध महाभियोग पुष्टि हुने प्रमाण भए उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेको थियो। उक्त सूचनाका आधारमा उनीहरुले प्रमाण पेस गरेका हुन्।
तत्कालीन अवस्थामा २०७५ पुसमा प्रस्तावित प्रधानन्यायाधीशको रुपमा संसदीय समितिमा उपस्थित भएका राणा त्यसको करिब ३ वर्ष ८ महिनापछि राणा पुन: संसदीय समितिमा बयानका लागि उपस्थित हुन लागेका छन्। यसपटक उनले आफूमाथि लागेका आरोपको आरोपका सन्दर्भमा सफाइ दिनुपर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।