काठमाडौं– आज (बुधबार) भादौ शुक्ल चतुर्दशी। हिन्दू धर्मावलम्बीले गणेश चतुर्थीका रुपमा मनाउँदै छन्। अग्रपूजाको अधिकार प्राप्त गरेका, विघ्नहर्ता गणेशको ‘जन्मदिन’।
सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। यस अवसरमा आज काठमाडौं उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ।
शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ। आज हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए।
भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ।
बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजा आराधना गरी अर्घ्य दिनुपर्ने विधि रहेको धर्मशास्त्रविद् भट्टराईले बताए।
यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रतसमेत गर्छन्।
मङ्गल चतुर्थीसमेत भनिने यो पर्वलाई नेवार समुदायमा भने चथा पर्वका रूपमा मनाइन्छ। तिथिको घटबढका कारण चथा पर्व मङ्गलबार नै रहेको समितिले स्वीकृति दिएका पञ्चाङ्गमा उल्लेख गरिएको छ।
यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन पनि नेवार समुदायमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।