धनगढी– एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री तारा लामा तामाङलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ।
प्रदेश कमिटी उपसचिव पदमा रहेका तामाङ पार्टी विरुद्धका गतिविधीमा संलग्न रहेको भन्दै प्रदेश कमिटीले साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो।
प्रदेश सभा सदस्य तामाङले प्रदेश सभा बैठकमै बोल्दै अब उप्रान्त नेपाल कम्यूनिस्ट पार्टी (एकीकृत समाजवादी)मा नरही निर्वाचित भएको पार्टी नेकपा एमालको सदस्य हैसियतले प्रस्तुत रहने भनी धारणा व्यक्त गरेका थिए। सार्वजनिक रुपमा समेत उनले आफू अब एमालेको सांसदका रुपमा प्रस्तुत हुने भनेर बताएका थिए।
प्रदेश कमिटीले पार्टीको विधानको धारा ६४– १, २, ४, ६ र ६४–ख–८ को प्रक्रिया बमोजिम उपसचिव पदमा नरहने गरी कारबाही गरिएको प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ।
‘सुदूरपश्चिम प्रदेश सभा सदस्यको पदबाट आवश्यक कारबाही गर्न प्रदेश संसदीय दललाई निर्देशन गरिन्छ,’ प्रदेश अध्यक्ष हर्कबहादुर सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।