काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले यातायात क्षेत्रको वर्तमान अवस्थाबारे गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेको ध्यानाकर्षण गराएका छन्।
गृह मन्त्रालयमा भएको भेटमा ठूला चाडपर्व नजिकिएको अवस्थामा सार्वजनिक यातायातमा सुरक्षित यात्रा र यातायातको व्यवस्थाबारे सहमहामन्त्री यादवले ध्यानाकर्षण गराएका हुन्। यादव पार्टीको निवर्तमान यातायात समन्वय विभागका प्रमुख पनि हुन्।
भेटमा ट्रक व्यवसायी महासंघ र यातायात व्यवसायी महासंघको विधानबारे पनि कुराकानी भएको थियो। यातायात क्षेत्रमा देखिएका वर्तमान विषयवस्तुलाई विधानमा समेटेर अगाडि बढ्ने भन्ने विषयमा पनि कुराकानी भएको थियो।
गृहमन्त्री खाण र सचिव पाण्डेले सहज यातायात व्यवस्थापनबारे मन्त्रालय सजक रहेको बताए। आफूहरूले ठूला चाडपर्व नजिकिएको बेलामा यातायात व्यवस्थित र सहज बनाउन अहिलेबाटै पहल गरिरहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।