काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव बारा २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन्।
जसपा बारा क्षेत्र नम्बर २ कमिटीको बैठकले यादवको नामसमेत सिफारिस गरेको हो। यादवसँगै रामसहायप्रसाद यादव र प्रयाग रायको नाम पनि उक्त क्षेत्रबाट सिफारिस गरिएको छ। बारा २ मा यसअघि रामसहायले जितेका थिए।
उपेन्द्र भने सप्तरी २ बाट निर्वाचित भएका हुन्। उक्त क्षेत्रबाट जनमत पार्टीका अध्यक्ष डा सीके राउतले चुनाव लड्ने तयारी गरेका छन्।
पार्टीले निर्णयसमेत गरेर राउतलाई उक्त क्षेत्रबाट उठाउने घोषणा गरेको छ। स्थानीय तहकको निर्वाचनमा उक्त क्षेत्रमा जसपाले राम्रो मत ल्याउन नसकेका कारण उपेन्द्र नयाँ निर्वाचन क्षेत्र खोजिरहेका छन्।
स्थानीय तहको निर्वाचनमा जसपाले सदरमुकाम राजविराज नगरपालिका मात्रै जितेको छ।
राउतको घर भएको महादेवा गाउँपालिकाको वडानम्बर-२ मा जनमत विजयी भएको थियो। उनको गृहपालिकामा भने लोकतान्त्रिक समाजावादी पार्टी विजयी भएको छ।
अर्को छिन्नमस्ता गाउँपालिकामा पनि लोसपाले नै जितेको छ। अर्को पालिका तिलाठी-कोइलाडी गाउँपालिकामा कांग्रेस विजयी भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।