काठमाडौं– निर्वाचन आयोगले निर्माण गरेको आचार संहिताले प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नोभन्दा बाहेक अरुको निर्वाचन क्षेत्रको प्रचारमा सहभागी हुन रोक लगाएको छ।
सोमबार राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहितामा कुनैपनि मन्त्री र स्थानीय तहको जनप्रतिनिधि राजनीतिक दलको मुख्य प्रचारक र प्रचारक भई प्रचारप्रसारमा खटिन नपाउने व्यवस्था गरेको छ।
आयोगले तयार पारेको उक्त आचार संहिता आयोगले नै तोकेको दिनवाट लागू हुनेछ। यसअघि आयोगको छलफलमा दलहरुले यो व्यवस्थाको विरोध गरेका थिए। तर आयोगले यो व्यवस्था राखेर राजपत्रमा प्रकाशित गरेको छ।
आयोगले नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका र कार्यपालिका पदाधिकारीले पालना गर्नुपर्ने ८ वटा आचरण तोकेको छ। कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाउने भनिएको छ।
तर निर्वाचनमा आफैं उम्मेदवार भएका प्रधानमन्त्री र मन्त्री आफ्नो क्षेत्रमा प्रचारप्रसार गर्न जान सक्ने आचार संहितामा उल्लेख छ। यसरी प्रचारमा जाँदा सरकारी स्रोत साधन प्रयोग गर्न भने नपाइने आचारसंहितामा उल्लेख छ।
आचार संहिताले निर्वाचन लक्षित गरेर कुनै योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण गर्न पनि रोक लगाएको छ। केन्द्र र प्रदेश सरकारका मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यले कुनै राजनीतिक नियुक्तिको पद सिर्जना गर्न र नियुक्त गर्न पनि नपाउने आचारसंहितामा उल्लेख छ। उनीहरुले आयोगको अनुमति नलिई विदेश भ्रमणमा पनि जान नपाउने आचार संहितामा उल्लेख छ।
आयोगले आचार संहिता लागू गराउन अघि सरकारले सरुवा, बढुवा र नियुक्ति गर्ने तयारी गरेको छ। असोज २ गते आयोगले मनोनयन दर्ताको समय तोकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।