काठमाडाैं– निर्वाचन आयोगले मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्माण गरेको आचार संहिता राजपत्रमा प्रकाशित भएको छ। आयोगले निर्णय गरेका दिनदेखि अब यो आचार संहिता लागू हुनेछ।
आयोगले यसअघि दलहरुसँग आचार संहिताको बारेमा छलफल पनि गरेको थियो। आचार संहितामा आयोगले दुई तहको अनुगमन संयन्त्रको प्रस्ताव गरेको छ। आयोगले केन्द्रमा निर्वाचन आयुक्तको नेतृत्वमा केन्द्रीय आचार संहिता अनुगमन समिति र हरेक जिल्लामा जिल्ला आचार संहिता अनुगमन समिति गठनको प्रस्ताव गरेको हो।
निर्वाचन आयोगले तोकेको निर्वाचन आयुक्तको नेतृत्वमा गठन हुने केन्द्रीय निर्वाचन आचार संहिता अनुगमन समितिमा पाँचजना सचिवहरु रहने राजपत्रमा प्रकाशित आचार संहितामा उल्लेख छ।
निर्वाचन आयोगका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, कानून, गृह र सञ्चार मन्त्रालयका सचिव स्वतः अनुगमन समितिमा रहने व्यवस्था छ। निर्वाचन सेल हेर्ने नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक पनि समितिमा रहनेछन्। निर्वाचन आयोगको राजनीतिक दलसम्बन्धी महाशाखाको प्रमुख समितिको सदस्य सचिवको रुपमा काम गर्नेछन्। हरेक जिल्लामा मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा जिल्लास्तरीय आचार संहिता अनुगमन समिति बन्नेछ।
उक्त समितिमा प्रमुख जिल्ला अधिकारी सहसंयोजक हुनेछन् भने प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयको प्रमुख सदस्य हुनेछन्। आयोगले गत वैशाख ३० गते निर्माण गरेको भन्दा कडाई गर्दै आचार संहिता निर्माण गरेको हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।