फाइल तस्बिर।
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालीसँग विवाह गरेर नेपाल आउने विदेशी महिलाका लागि ७ वर्षे प्रावधान राख्ने अजेन्डा आफ्नो भएको बताएका छन्। आफू राज्य व्यवस्था समितिको सदस्य पनि रहेको बताउँदै आफूले नै उक्त प्रस्ताव राखेको प्रचण्डले बताएका हुन्।
उनले सोमबार एक कार्यक्रममा बोल्दै भारतसँग बराबर गर्न आफूले उक्त अजेन्डा अघि सारेको बरु एमालेले रोकेको बताए। उनले भने, 'वैवाहिक अंगीकृतमा भारतसँग बराबर हुनुपर्छ मैले भनेकै हो। त्यस कुरामा एमाले पनि विभाजित थियो। कांग्रेस रिजर्भ बस्दा सहमति भएन। बहुमतबाट पारित भएको हो।'
वैवाहिक अंगीककृत विधेयक चाँडै ल्याउने सहमतिमा अहिलेको विधेयक अघि बढाउन दिइएको उनले खुलाएका छन्। उनले भनेका छन्, 'एउटा त ६-७ लाख नेपाली नागरिकका छोराछोरीले नागरिकता पाउन् भनेर सहमत भयौं। अर्को वैवाहिक अंगीकृतवाला प्रावधान राखेर पनि विधेयक चाँडै ल्याउँछौं भन्ने सहमति गरेर मात्रै यो अघि बढेको हो।'
माओवादी केन्द्रले जोड गरेर राखेको प्रावधान बताउँदै तत्कालीन नेकपाकै सरकारमा संसद्बाट पास गर्न दबाब दिएको बताएका छन्। उनले यो विषय चुनावी अजेन्डा बन्न सक्ने उल्लेख गर्दै प्रष्ट पारे, 'राज्य व्यवस्था समितिको तत्कालीन सभापनि शशी श्रेष्ठ, एउटा अध्यक्ष म र अर्को केपी ओली बसेर यो ७ वर्षे प्रावधानसहितको प्रतिवेदन पारित गर्ने सहमति गरेका हौं। पछि फुल हाउसमा लैजाउँ भन्दा ओलीले लिन मानेनन्। ६ महिना बित्यो। जोड गर्यौं। अन्तिममा संसद् विघटन गरेर अध्यादेश ल्याए। अध्यादेश अहिले गठबन्धनले ल्याएकै प्रावधान समेटेर आएको थियो।'
वैवाहिक अंगीकृतको प्रावधानमा एमालेले राजनीति गरेको बताउँदै उनले आफ्नो अजेन्डा भएको प्रष्टसँग राख्न कार्यकर्तासँग आग्रह गरेका छन्। उनले भने, 'जनताले यो बुझ्दैनन् भन्ने ठानेका होलान्। यो विषय उठायो भने राष्ट्रवादी भइन्छ भन्ने लागेको होला। नाकाबन्दीको बेला जस्तो सोचेका होलान्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।