शंकर पोखरेल (फाइल तस्बिर)
काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावमा गरिने तालमेल पारस्परिक लाभको विषय भएको भन्दै जोसँग तालमेल हुँदा आफूहरुलाई लाभ पुग्छ, त्यसैसँग तालमेल गरिने बताएका छन्।
नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आयोजित पत्रकारसँग अन्तरसम्वाद कार्यक्रममा उनले चुनावमा तालमेल के गर्ने स्थानीय परिस्थितिमा भर पर्ने बताए।
‘तालमेल कुनै नीतिगत सम्झौताको विषय होइन। नीतिगत सम्झौता हामी कसैसँग गर्दैनौँ। आफ्नो नीतिका आधारमा चुनाव लड्छौँ। जो पक्षसँग पक्षसँग चुनावी तालमेल हुँदा पारस्परिक लाभ हुन्छ। त्यो पक्षसँग तालमेल गर्न सकिन्छ। यो हाम्रो नीतिगत मान्यता हो,’ उनले भने।
एमाले अध्यक्ष केपी शर्मा ओली र रवीन्द्र मिश्रको भेटबारे पनि उनले प्रतिक्रिया दिएका थिए। आलोचकहरुले पनि आफ्ना अध्यक्ष ओलीसँग भेटेर कुरा गरेमा प्रभावित हुने पोखरेलले बताए।
‘अरु आलोचकहरुलाई पनि म अनुरोध गर्छु, एकपटक हाम्रो अध्यक्षसँग गएर संवाद गर्नुस्। आलोचक होइन, समालोचक बनेर राष्ट्र निर्माणको बाटोमा अघि बढ्नुस्,’ उनले भने, ‘यो मुलुकका लागि आवश्यक कुरा हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।