फाइल तस्बिर।
काठमाडौं– नेकपा एमालेका सांसद भीम रावलले विभिन्न देशका राजदूतहरू नेताहरूको घर–घरमा गएर उपदेश दिने गरेको आरोप लगाएका छन्।
सोमबार प्रतिनिधि सभामा वेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा रावलले विभिन्न देशका राजदूतहरु नेताहरुको घर–घरमा गएर 'तिमीहरुले यस्तो गर्न पाउँदैनौं, उस्तो गर्न पाउँदैनौं' भनेर उपदेश दिने गरेको टिप्पणी गरे।
सांसद रावलले आफू गृहमन्त्री हुँदा विभिन्न क्याम्पमा रहेका माओवादी सेनाहरुलाई नेपाली सेनामा रुपान्तरण गरेको स्मरण गरे। उनले उक्त समयमा प्रधामन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेको समेत स्मरण गरे।
सांसद रावलले लामो समयसम्म पनि द्वन्द्वकालीन मुद्दा टुंग्याउन किन ढिला भएको छ भन्दै अन्तर्राष्ट्रिय शक्तिहरुले नेपालमा हस्तक्षेप गरिराखोस् भन्ने षड्यन्त्र त छैन भन्ने आशंका व्यक्त गरे।
'बलिया देशहरुमा यस्तो घटना घटेको अवस्थामा राजदूत गएर उपदेश दिन मिल्छ? कहिँ देख्नु भएको छ? यो लम्बाउने कुरा नेपालको राष्ट्रिय हितमा छैन', रावलले भने।
उनले आफू शान्ति प्रक्रियाका धेरै विषयमा संग्लग्न भएको बताउँदै डेढ दशकसम्म पनि त्यो विषय टुंग्याउनका लागि नेपालका प्रधानमन्त्रीहरु किन नलागेका होलान् भनेर अचम्म लागेको बताए।
सांसद रावलले भने, 'व्यक्तिकै कुरा गर्ने हो भने द्वन्द्वकालमा आमनेसामने भएका प्रधानमन्त्री शेरबहादुर देउवाजी र एक पक्षको आन्दोलन हाँक्ने पुष्पकमल दाहालजी हुनुहुन्थ्यो। उहाँहरु दुवैजना प्रधानमन्त्री हुनुभयो। तर, किन यो काम गर्नुभएन?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।