काठमाडौं– नेकपा एमालेका सांसद महेश बस्नेतले मिलमतोमा संक्रणकालीन न्याय मिलाउन नमिल्ने बताएका छन्।
प्रतिनिधि सभामा सोमबार बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले अहिलेको विधेयकले दक्षिण अफ्रिकाको मोडल पछ्याउन खोजेको तर ठाउँ ठाउँमा चुकेको बताए।
बस्नेतले हत्या र यौनजन्य हिंसालगायत अन्य गम्भीर अपराधमा फरक सजाय गर्न नमिल्ने तर्क गरे। उनले यसमा कसैलाई उन्मुक्ति पनि दिन नमिल्ने दाबी गरे।
‘हामी क्षमा दिनसक्ने पक्षमा छैनौं। हामीले अहिले गम्भीरताका साथ नलिँदा भोलि अन्तर्राष्ट्रिय अदालतमा उभिनुपर्ने हुन्छ’ उनले भने ‘विशेष अदालतको फैसला नै अन्तिम हुने अनि पुनरावेदन नगर्ने कुरा गम्भीर गल्ती भएको छ।’
त्यस्तै, सजाय कम गर्ने कुरा ऐनमा राख्न नसकिने उनको भनाइ छ। उनले द्वन्द्वपछि भएका घटनाहरु रामहरि श्रेष्ठको हत्या, दोरम्बा घटना लगायतमा पनि छानबिन हुनुपर्ने माग गरे।
उनले चितवनको बाँदरमुढे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्रमा पर्ने भन्दै त्यहाँका पीडितहरुले अहिलेको विधेयकबाट न्याय नपाउने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।