प्रदीप ज्ञवाली (फाइल तस्बिर)
काठमाडौं– नेकपा एमालेका सांसद प्रदिपकुमार ज्ञवालीले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय बुढानीलकण्ठ (आफ्नो निजी निवास) मा लैजान खोजिएको हो भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै ज्ञवालीले त्रिविमा देखिएका समस्याबारे सरकारको ध्यानाकर्षण गराए। ज्ञवालीले त्रिविमा सत्ताको आडमा गुण्डागर्दी भइरहेको आरोप समेत लगाए।
त्रिविमा देखिएको बेथितिमाथी बोलेका ज्ञवालीले त्यहाँ देखिएको समस्या कांग्रेस निकट विद्यार्थी संगठनका कारण भएको भन्दै त्यो समस्याको समाधान तत्काल गर्न पनि माग गरेका थिए।
‘३ बर्षमा ३०० दिन तालाबन्दी भएपछि र पढाउन गएका प्राध्यापकमाथि सांघातिक आक्रमण गरेपछि त्यसरी आक्रमण गर्नेलाई मुद्दा नचलाएपछि विश्वविद्यालय कसरी चल्छ? शिक्षाको गुणस्तर कसरी कायम हुन्छ? यो असाध्यै गम्भीर प्रश्न हो,’ ज्ञवालीले भने, ‘यस विषयमा न कुलपति (प्रधानमन्त्री) बोल्नु हुन्छ, न सहकुलपति (शिक्षामन्त्री) बोल्नहुन्छ, न गृहमन्त्रीले कुनै जवाफ दिनु हुन्छ। आफूले भने जस्तो भएन राष्ट्र बैंकमा हमला, आफूले भने जस्तो भएन रेडक्रसमाथि हमला, आफूले भने जस्तो भएन न्यायालयमाथि हमला, आफूले भने जस्तो भएन विश्वविद्यालयमाथि हमला सरकारको अपेक्षा के हो? विश्वविद्यालयको कार्यलय बुढानीलकण्ठ नै लान खोजीएको हो?’ सांसद ज्ञवालीले प्रश्न गरे।
एमाले सांसद ज्ञवालीले त्रिविका समस्या समाधानका सन्दर्भमा सरकारलाई रुलिङ गर्ने सभामुखसँग माग गरेका थिए। ज्ञवालीले गराएको ध्यानाकर्षणअनुसार सभामुख अग्निप्रसाद सापकोटाले त्रिविको समस्या समाधान गर्न सरकारलाई रुलिङ गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।