काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या समाधान गर्न सरकारलाई रुलिङ गरेका छन्।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकको सुरुमा नेकपा एमालेका उपमहासचिव समेत रहेका सांसद प्रदीप ज्ञवालीले त्रिविमा हाल देखिएको समस्याबारे सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएका थिए।
त्रिविमा सरकारकै संरक्षणमा गुण्डागर्दी मौलाएको आरोप लगाउँदै ज्ञवालीले त्यसलाई नियन्त्रण गर्न माग गरेका थिए। ज्ञवालीले त्रिविको समस्या समाधानका सन्दर्भमा सभामुखले रुलिङ गर्नुपर्ने माग बैठकमा गरेका थिए।
सभामुखले रुलिङ नगरे बैठक अगाडि बढ्न नदिने एमाले सांसदको अडान पछि सभामुख सापकोटाले रुलिङ गरेका थिए।
विश्वविद्यायका शैक्षिक एवं पठनपाठन कार्य प्रभावित हुन गएको भन्ने विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सभामुख सापकोटाले समस्याको शीघ्र समाधान गर्न नेपाल सरकारलाई निर्देश गरे।
‘माननीय सदस्यहरु, त्रिभुवन विश्वविद्यालयमा भएको तालाबन्दी लगायतका विरोध कार्यक्रमहरुले विश्वविद्यायका शैक्षिक एवं पठनपाठन कार्य प्रभावित हुन गएको भन्ने विषयमा माननीय सदस्यले कुरा उठाउनु भएको छ। सभाको गम्भीर ध्यानाकर्षण भएको छ। तसर्थ यो समस्या शीघ्र समाधान गर्न नेपाल सरकारलाई निर्देश गर्दछु,’ सापकोटाले सरकारलाई रुलिङ गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।