काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग विवेकशील साझा पार्टीका नेता एवं पूर्व संयोजक रविन्द्र मिश्रले साढे दुई घण्टा भलाकुसारी गरेका छन्।
आइतबार साँझ ६ बजे ओली निवास बालकोट पुगेका मिश्रले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत ‘ओलीजीसँग अढाई घण्टा!’ भन्दै भेटवार्ताबारे जानकारी दिएका हुन्।
भेटका अवसरमा आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, ओलीका राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्सा पारित गर्नु पूर्व भोगेका जटिलता तथा अन्य विषयमा कुराकानी भएको मिश्रले उल्लेख गरेका छन्।
मिश्र लेख्छन्, 'तपाईं धर्म-संस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न सक्नुहुन्छ ? मैले सोधेँ। उहाँले भन्नुभयो, म अहिले पनि राती सुत्नुअघि कम्तिमा एक घण्टा पढ्छु। उहाँका कयौँ सहकर्मीले मलाई बताए अनुसार ओलीजी राती १२/०१ नबजी सुत्नु हुन्न, उहाँको उर्जा र लगन अनौठो छ।'
कुराकानीको क्रममा ओलीले आफूलाई नआत्तिन सल्लाह दिएको पनि उनले बताएका छन्। 'उहाँले मलाई भन्नुभयो, “तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला।'
आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको चुच्चे नक्सासहितको एक र दुई रुपैयाँको एक मुठ्ठी सिक्का ओलीले उपहार दिएको उल्लेख गर्दै मिश्रले भेटका लागि आभार प्रकट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।