काठमाडौं– प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजे बस्दैछ। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा कानुनमन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।
एक साताअघि मन्त्री कोइरालाले सदनमा संशोधित विधेयक पेस गरेका थिए। माओवादी सशस्त्र द्वन्दका क्रममा मारिएका परिवार र घाइतेलाई राहत प्रदान गर्नका साथै समाजमा मेलमिलाप कायम गर्न ल्याइएको विधेयकलाई सरकारले अघि बढाउन लागेको उनको दाबी थियो।
यसैगरी, राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पनि जानकारी गराइनेछ। यस्तै सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त भएको व्यहोरा जानकारी गराउने कार्यसूची छ।
सोमबारको प्रतिनिधि सभा बैठकमा दुई प्रतिवेदन पेश हुनेछन्। राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिकी सभापति निरादेवी जैरुले दुई प्रतिवेदन पेश गर्ने कार्यसूचीमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।